काठमाडौं, ६ जेठ । नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय प्राथमिकता (एज्ञ) प्राप्त मैलुङ—स्याफ्रुबेशी सडकका २०७५ जेष्ठ रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ ।
साथै सोही अवसरमा नेपाली सेनाले गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ ।
तत्कालिन माननीय अर्थमन्त्री रामशरण महतले शिलान्यास गर्नु भएको मैलुङ–स्याफ्रुबेशी सडक खण्डमा नेपाली सेनाले २०७२ वैशाख ०१ गतेबाट निर्माण कार्य शुभारम्भ गरी सम्पन्न गरेको छ ।
सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।
बेत्रावती-धुन्चे-स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ-स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि.मि. कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुकोसाथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ ।
यो सडक खण्डमा घुम्तीहरु नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती ‘धुन्चे स्याफ्रुबेशी’ सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको छ ।
सोहि अवसरमा रसुवा जिल्लाको स्याफ्रुबेशीमा जिल्ला समन्वय समितिले सञ्चालन गरेको कार्यक्रममा माननीय रक्षामन्त्री पोखरेल, माननीय भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी र रसुवा जिल्लाको प्रतिनीधि सभाका माननीय सदस्य मोहन आचार्यले राष्ट्रले दिएको महत्वपूर्ण जिम्मेवारी समयमा सफलता पूर्वक सु—सम्पन्न गरेकोमा नेपाली सेना र प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई धन्यवाद प्रदान गर्नुको साथै माननीय रक्षामन्त्री श्री पोखरेलले सडक खण्ड सम्पन्न गर्न योगदान पु¥याउनु हुने मैलुङ—स्याफ्रुबेशी सडक निर्माण कार्यदल र श्री कालीजंग गणलाई सम्मान स्वरुप कदर पत्र समेत प्रदान गर्नु भएको थियो ।