Logo

नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सामाजिक सुरक्षा



काठमाडौं ७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्र्दै छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलोपटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को दोस्रो संयुक्त बैठकमा पहिलोपटक सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्ने भएकाले यसलाई सर्वत्र चासोका साथ हेरिएको छ । सरकारी नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिनेछ भने त्यसको निश्चित समयावधि र रकमलगायतका विषय बजेटमा पर्नेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश महŒवपूर्ण कार्यक्रमहरूलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न लागेको बताए । यद्यपि, स्रोतसाधनको सीमितताका कारण केही कार्यक्रमको शैली परिमार्जन गर्ने उनले जानकारी दिए । सोमबार सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रममा जुटिरहेका अर्थमन्त्री खतिवडाले पैसा अभावले निर्वाचन जित्न घोषणा गरिएको पाँच हजार सुरक्षा भत्ता दिने कार्यक्रम भने नसमेट्ने भएका छन् ।

संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई वाचन गर्नेछिन् । सरकारको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा प्रणालीको एकीकृत ढाँचा कार्यान्वयनमा ल्याइने विषयलाई उल्लेख गरिने अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारले भत्ताको विकल्पमा बिमा कार्यक्रम अगाडि सार्ने भएको छ ।

नीति तथा कार्यक्रममार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका साथसाथै सबै श्रमिक तथा कर्मचारीलाई स्वास्थ्योपचार, बेरोजगार भत्ता, आश्रित परिवारको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूति गरिने भएको छ ।

आगामी आर्थिक वर्षको कार्यक्रममा जडीबुटीको नसर्री र प्रशोधन केन्द्र स्थापना कार्यक्रम समेट्ने तयारी भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रममा हरेक वडामा एक उपस्वास्थ्य चौकी र गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने रहेको छ । यस्तै, नीति तथा कार्यक्रमले प्रत्येक निर्वाचन क्षेत्रमा एक आवासीय विद्यालय निर्माण गर्ने योजना बनाएको छ ।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई यातायात भाडामा छुटका साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने जस्ता विषय समेट्ने तयारी गरिएको छ ।

संविधानबमोजिम राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयले जनाएको छ । राष्ट्रिय सभा ५९ र प्रतिनिधिसभा २७५ सांसदको संयुक्त बैठक दोस्रोपटक बस्न लागेको हो ।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ । सोमबारै राष्ट्रपतिको सम्बोधनलगत्तै प्रतिनिधि सभाको बैठक साँझ साढे ५ बजे बस्नेछ । बैठकले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत गर्ने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

राजधानी दैनिकका अनुसार नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरूप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट तयारी समेत भइरहेको छ । संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा केन्द्र, १ असारमा प्रदेश र १० असारमा स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

बजेट निर्माणमा अर्थमन्त्री डा. खतिवडाको साथै अर्थसचिव राजन खनाल, बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारी, रामशरण पुडासैनी, वित्त आयोगका निमित्त सचिव वैकुण्ठ अर्याल र आर्थिक सल्लाहकार रामशरण खरेल सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्