Logo

ओलीलाई सहज, दाहाललाई सकस



काठमाडौं ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिले आइतबार पूर्णता पाउन सकेको छैन । केन्द्रीय समितिमा थपघट गर्ने सदस्यको नाम टुंगो लाग्न नसकेको हो ।

पार्टी एकीकरण भएको तीन दिन बितेको छ । नेताहरू नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन् । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज भएको छ भने अध्यक्ष पुष्पकमल दाहाललाई सकस परेको छ ।

तत्कालीन एमालेले भने केन्द्रीय सदस्यहरूको नाम सहजै टुंगो लगाए पनि तत्कालीन नेकपा माओवादी केन्द्रभित्र भने सकस भएको हो । नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेको बताए । उनले सबैको नाम टुंगो लागेपछि सार्वजनिक गरिने बताए । शीर्ष नेताहरू नामावली टुंगो लगाउनमा लागेको बताउँदै उनले छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिए । एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीन एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतः एकीकृत पार्टीको स्थायी कमिटी सदस्य बनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यका लागि एमालेका तत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्य हुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव पौडेलले ४५ जनाको नाम टुंगो लगाएको स्रोतले जनाएको छ ।

नेकपा केन्द्रीय समिति छनोट

स्रोतका अनुसार तत्कालीन एमालेबाट थपिएका नयाँ केन्द्रीय सदस्यमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार अच्युत मैनालीदेखि एमाले प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार विष्णु रिजालसम्म छन् । यसैगरी, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, अर्थमन्त्री कैलाश ढुंगेल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, घोराही उपहानगरपालिका प्रमुख नरुलाल चौधरीलगायतका नयाँ थपिएका छन् ।

एमालेको तत्कालीन नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सक्रिय तथा युवा नेतालाई केन्द्रीय सदस्यमा तानिएको छ ।

तत्कालीन माओवादी केन्द्रको ३३ सदस्यीय केन्द्रीय कार्यालय सदस्यबाट १९ जना स्थायी कमिटीका लागि छनोट गर्नुपर्नेछ । यसैगरी, तत्कालीन ८७ सदस्यीय सचिवालयमा ११३ जना थप गरी केन्द्रीय सदस्यलाई पूर्णता दिन आन्तरिक तयारी भइरहेको छ ।

केन्द्रीय सदस्यका साथै स्थायी कमिटीको नामावली टुंगो लगाउन पार्टीका अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । समावेशी रूपमा नामावली छनोट गर्न तीनै जना नेतालाई दबाब परेको छ । नेता जनार्दन शर्माले केन्द्रीय सदस्यहरूको टुंगो लागिसकेको बताउँदै केही प्राविधिक कुरा मिलाउन मात्र बाँकी रहेको बताए ।

अन्तिम टुंगो लागेसँगै नामावली सार्वजनिक गरिने उनले बताए । दुई दिनभित्रैमा नामावली टुंगो लागिसक्ने उनले बताए ।  नेता प्रभु साहले विभिन्न मापदण्डलाई ध्यान दिएर नामावली छनोट गर्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए । विधि र प्रक्रिया मिलाएर पार्टीमा गरेको योगदान, कार्यक्षमता, अग्रज, युवा, सक्रिय एवं समृद्धिको लक्ष्य पूरा गर्न योगदान गर्न सक्ने नेताहरूलाई जिम्मेवारी दिने तयारी भइरहेको साहले बताए । यसैबीच थपिने केन्द्रीय सदस्यको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष दाहालले पाएका छन् । राजधानीबाट



प्रतिक्रिया दिनुहोस्