Logo

बजेटमा आयकर व्यवस्था : धनीलाई बढी, मध्यमलाई कम



काठमाडौं १६ जेठ । विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी सरकारले कर व्यवस्थामा परिवर्तन गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको बजेट वक्तव्यअनुसार हाल कायम रहेको व्यक्तिगत आयकरको १५ र २५ प्रतिशतलाई हेरफेर गर्दै धनीलाई बढी र मध्यम आय भएकालाई राहत हुने व्यवस्था गरेको हो । साथै महँगा सवारी साधनको अन्तशुल्क वृद्धि पनि गरिदिएको छ । ‘व्यक्तिगत आयकरमा हाल कायम रहेको पन्ध्र र पच्चीस प्रतिशतको सट्टा दस, बीस र तीस प्रतिशतका दरहरू कायम गर्ने प्रस्ताव गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ, ‘२० लाखभन्दा बढीको करयोग्य आयमा २० प्रतिशत अतिरित्त कर लगाउने प्रस्ताव गरेको छु ।’ राजस्व सचिव शिशिर ढुंगानाका अनुसार यो व्यवस्थापछि व्यक्तिगततर्फ साढे तीन लाख र दम्पतीका लागि सुरुको ४ लाखमा १ प्रतिशत कर लाग्ने छ । त्यसपछिको १ लाखमा १० प्रतिशत कर लाग्ने छ । त्यसपछिको अर्को २ लाखमा २० प्रतिशत र कर लाग्ने छ । अर्को १३ लाखमा ३० प्रतिशत र त्यसभन्दा माथिको रकमका लागि अतिरित्त २० प्रतिशत आयकर लाग्ने भएको हो । ‘यो आधारमा मध्यम आय भएकालाई केही राहत र धेरै आम्दानी हुनेलाई केही बढी कर लाग्ने छ,’ सचिव ढुंगानाले भने, ‘यो प्रगतीशिल करको अवधारणा हो ।’

यस्तो आयकर केही सामुदायिक संघसंस्था तथा उत्पादनमूलक उद्योगले भने छुट पाउनेछन् । ‘सामुदायिक अस्पतालले तिर्नुपर्ने आयकर दरमा २० प्रतिशत छुट दिने प्रस्ताव गरेको छु,’ बजेट वत्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘सामाजिक संस्थाहरूले विद्यमान आयकर ऐनका प्रावधान अनुसार विवरण पेस गरेमा विगतका आर्थिक वर्षहरूको कर तथा शुल्कहरू छुट दिने प्रस्ताव गरेको छु ।’

सुविधासम्पन्न सवारी साधन खरिद गर्नेलाई मंहगो पर्ने छ । एक हजार सीसी भन्दा माथीका चारपांग्रे सवारी साधन र एक सय पचास सीसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा अन्तशुल्क वृद्धि गरेको छ । ‘एक हजार सीसीको सवारी साधनका लागि पहिले ६० प्रतिशत अन्तशुल्क लाग्थ्यो । अहिले यसलाई ६५ प्रतिशत पुर्‍याइएको छ,’ ढुंगानाले भने, ‘यहि अनुपातमा सीसीको आधारमा एकसय प्रतिशत सम्म अन्तशुल्क वृद्धि गरिएको हो ।’ उत्त आधारमा एक हजार सीसी भन्दा बढी क्षमताका सवारी साधनमा कम्तिमा एक लाख रुपैयां महंगो पर्ने भएको छ । त्यस्तै मोटरसाइकलमा पनि एक सय ५० सीसी क्षमतामा ४० प्रतिशत अन्तशुल्क लिने व्यवस्था थियो । यो प्रतिशतलाई पनि वृद्धि गरिएको छ । यो आधारमा अब एक सय ५० भन्दा बढी सीसीको बाइक १० हजार भन्दा बढी महँगो पर्ने छ ।

मदिरा तथा सूर्तिजन्य पदार्थ प्रयोगकर्ताले पनि बढी मुल्य तिर्नुपर्ने छ । दुवैको अन्तशुल्क वृद्धि गरिएको छ । चुरोटको उत्पादन र आयातमा प्रति खिल्ली पच्चीस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था गरेकाले मद्यपान तथा धुम्रपानप्रेमीले थप भार खेप्नुपर्ने भएको हो । कोका मिश्रित चकलेट, पर्फ्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्त:शुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ । ‘पहिले अन्तशुल्क नै लाग्दैनथियो,’ सचिव ढुंगानाले भने, ‘यो वर्षबाट लाग्छ ।’

महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्यानिटरी, इलेक्ट्रोनिक्स एवम् निर्माण सामाग्री लगायतका वस्तुहरूको कारोवार अनिवार्य रूपमा मूल्य अभिबृद्धि कर (भ्याट)मा दर्ता हुनु पर्ने छ । भ्याटसम्बन्धी व्यवस्था भएपनि पहिले कडाइका साथ लागु भएको थिएन । अब उक्त समाग्रीको कारोबारीले भने अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्