बाजुरा, १८ जेठ । बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् ।
जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा ठूलो संख्यामा नागरिकले हालसम्म पनि विद्युत् सेवा नपाएपछि झरो बाल्न बाध्य भएको बताइएको छ ।
हिमाली गाउँपालिका–६, पाडीका १४५ घरपरिवारबाहेक अरु सबैको उज्यालोको स्रोत नै सल्लाको रुखबाट निकालिएको झरो, टुकी रहेको स्थानीयले गुनासो गरेका छन् । छोराछोरीलाई विद्यालयबाट दिएका गृहकार्य र अध्ययन गर्नका लागिसमेत झरोको टुकी बनाउँदै पढाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।
विद्यालयमा जाने अधिकांश बालबालिका रातिको समयमा झरो बाल्दै किताब पढ्ने गरेका छन् । बिहानको समयमा घरको काम गर्न जाने हुँदा राति नै झरोको टुकी बनाएर गृहकार्य गर्ने गरेका छन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउँपालिकामा स्थानीयवासीलाई विद्युत् निर्माण गरी झरोको समस्या हटाउने बताउनुभएको छ ।
उहाँले गाउँपालिकाका दुर्गममा भएको र बस्तीसमेत आवतजावत गर्न कठिनाइका कारण गाउँपालिकामा कम गुनासा आए पनि विद्युत् निर्माणका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताउनुभयो ।
हिमाली गाउँपालिकाका एक हजार ६९७ परिवारमध्ये १४५ परिवारले मात्र बत्ती बाल्ने गरेका छन् । यसैगरी, बूढीगंगा नगरपालिका वडा नं २ र ३ का करीब ५०० परिवार अध्याँरोमा बस्दै आएका छन् ।
लामो समयदेखि उक्त परिवारले वनबाट सल्लाको रुखको झरो बनाउँदै दैनिकी गुजार्दै आएको बूढीगंगा नगरपालिका–२ का खडकराज जोशीले बताउनुभयो । विद्युत् बाल्ने सपना अहिलेसम्म पूरा नभएको जोशीको भनाइ रहेको छ ।
गरीब परिवारको झरो नै उज्यालोको सहारा बन्दै गएको छ । प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीको गाउँका स्थानीय समेत झरोको भरमा रहेको स्थानीय जीतबहादुर बूढ्थापाले बताउनुभएको छ ।
बूढीगंगा नगरपालिकाका साविकको बाह्रबिस र कुल्देवमाण्डौं गाविसमा विद्युत् भएपनि ब्रह्मतोला गाविसका स्थानीय भने झरो बाल्दै आइरहेका छन् ।
जिल्लाका नौमध्ये सातवटा स्थानीय तहका करीब ९० प्रतिशत घरधुरी विद्युत्को पहुँचमा रहेको र जिल्लामा हाल करीब एक हजार ५०० किलोवाट विद्युत् उत्पादन भइरहेको बताइएको छ । रासस