Logo

सडकमै जान्छ वर्षेनी २ हजारको ज्यान



काठमाडौं १९ जेठ । मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ ।

आव २०६८-६९ देखि २०७४-७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगत सात वर्षमा देशभरि भएका ६४ हजार १ सय ६८ वटा दुर्घटनामा १३ हजार ९ सय ३१ जनाले अनाहकमा ज्यान गुमाएका छन् ।

चालु आव २०७४-७५ को वैशाख मसान्तसम्म भएका ९ हजार ५० वटा दुर्घटनाबाट मात्रै २०९७ जनाको मृत्यृ भएको प्रहरीले जनाएको छ । अन्नपूर्णपोष्टबाट

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले चालक तथा अन्य व्यक्तिबाट हुने मानवीय त्रृटि, सडक तथा भौगोलिक दूरावस्थाका कारण दुर्घटना हुने गरेको बताए । गल्ती गर्नेहरूलाई ट्राफिकहरूले पटकपटक कार्वाही गर्दा समेत सवारी चालकहरूले त्यसलाई संवेदनशीलतापूर्वक ग्रहण गर्न नसक्दा समेत दुर्घटना हुने क्रम बढेको उनले बताए । ‘हाम्रो लाइसेन्स वितरण प्रणाली नै त्रुटिपूर्ण छ, यसमा आमूल सुधार नहुँदासम्म दुर्घटना क्रम बढिरहन्छ’, प्रहरी प्रवक्ता क्षेत्रीले भने ।

गृह मन्त्रालयका विपत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विभिन्न खाले सडक दुर्घटनाबाट औसतमा वर्षेनी २ हजार व्यक्तिको मृत्यु हुने कहालीलाग्दो अवस्था रहेको बताए । सहसचिव न्यौपानेले सडकको दूरावस्था, सरकारी संयन्त्रको समन्वयको अभाव र चालकको लापारवाहीका कारण सडक दुर्घटना हुने क्रम बढ्दै गएको जानकारी दिए ।

सडकको अवस्था हेर्ने सडक विभाग, गाडीको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय हुन नसक्दा कहालीलाग्दा दुर्घटनाहरू हुने गरेको पनि सहसचिव न्यौपानेले दाबी गरे ।

चालकको लापरवाहीका कारण भएका दुर्घटनाः

गृह मन्त्रालयका अनुसार आव २०६८-६९ मा भएका ८ हजार ८ सय ९२ वटा दुर्घटनामध्ये ५ हजार ७ सय ९५ वटा दुर्घटना चालकका लापारवाहीले भएका थिए । आव २०६९-७० मा भएका ८ हजार ४ सय ८४ दुर्घटनामध्ये ५ हजार ५ सय ५१ व्टा दुर्घटना चालककै लापावाहीका कारण भएको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी आव २०७०-७१ मा भएका ८ हजार ४ सय ६ घटनामध्ये ६ हजार ५ घटना, आव २०७१-७२ मा भएका ९ हजार १ सय ४५ वटा घटनामध्ये ६ हजार ६ सय ९ वटा घटना, आव २०७२-७३ मा भएका १० हजार १३ घटनामध्ये ७ हजार ४ सय ३२ वटा घटना, आर्थिक वर्ष २०७३-७४ मा भएका १० हजार १ सय ७८ वटा घटनामध्ये ७ हजार ४ सय ८७ वटा घटना र आव २०७४ -७५ को असोज मसान्तसम्म भएका २ हजार ५ सय ७७ वटा घटनामध्ये २ हजार ४ वटा घटना चालकको लापारवाहीकै कारण भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सडक दुर्घटनामा कुन वर्ष कतिको ज्यान गयो ?

आर्थिक वर्ष २०६८-६९ –१८३७

आर्थिक वर्ष २०६९-७० –१८१६

आर्थिक वर्ष २०७०-७१ –१७८७

आर्थिक वर्ष – २०७१-७२ –२००४

आर्थिक वर्ष –२०७२-७३– २००६

आर्थिक वर्ष २०७३-७४ –२३८४

आर्थक वर्ष २०७४-७५– २०९७



प्रतिक्रिया दिनुहोस्