Logo

इन्धनको मूल्य बढ्दा चौतर्फी असर



काठमाडौं २१ जेठ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो  ।

शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमश: गिरावट भए पनि सरकारले यहाँ बढ्दाएको छ । इन्धनको मूल्य बढ्दात्यसको असर चौतर्फी देखिन्छ । सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असर पर्ने विज्ञहरू बताउँछन् । निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ  । अधिकांश दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्छ  । दुर्गमका सर्वसाधारणहरू महँगीको मारमा पर्ने अर्थविद् केशव आचार्य बताउँछन्  । ‘मूल्यवृद्धि हुँदा सरकारको साधारण खर्चदेखि दुर्गमका जिल्लामा महँगी बढाउँछ,’ आचार्यले भने, ‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारले अनुदान दिएर भए पनि मूल्य स्थिर राख्नुपर्छ  ।’ नेपाल आयातमा आधारित मुलुक हो  । अधिकांश खाद्यन्न आयातमै निर्भर छन्  । निगमले डिजेलको मूल्य ३ रुपैयाँ बढाएर प्रतिलिटर ९५ रुपैयाँ पुर्‍याइएको छ  । डिजेल भएको मूल्य वृद्धिले सार्वजनिक तथा ढुवानीको साधनमा तत्काल असर गर्छ  । खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुको ढुवानीमा असर गर्छ  ।

‘ढुवानी लागत बढेपछि त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्छ,’ पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले भने, ‘इन्धनको मूल्यवृद्धिले चौतर्फी प्रभाव देखिन्छ  ।’ पेट्रोलमा भएको वृद्धिले निम्नवर्गमा खासै असर नगरे पनि डिजेलमा भएको वृद्धिले उपभोक्ताहरू मारमा परेका हुन्  । सार्वजनिक यातायातसँगै डिजेलमा औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ  । मूल्यवृद्धिले उद्योगहरूको उत्पादन लागत पनि बढ्ने पूर्वसचिव ओझाले बताए  । ढुवानी/सार्वजनिक यातायातहरू पेट्रोल डिजेलकै भरपर्ने हुँदा पूरै अर्थतन्त्रमा प्रभाव पर्ने उनको दाबी छ  । अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको भाउ र स्वदेशमा भएको वृद्धिको तुलनामा जाँच गर्नुपर्ने उनले बताए  । सरकारले राम्रोसँग व्यवस्थित नगरे घरबेटीहरूले समेत भाडा बढाउने अर्थविद् आचार्यको भनाइ छ  । उनका अनुसार बजेट भाषणलगत्तै मूल्य बढ्नु जायज थिएन  । बजार छाडा भएकाले तत्काल बढ्यो  । ‘इन्धन वृद्धिको बहानामा केही व्यवसायीले मूल्य तत्काल बढाउन सक्छन्,’ आचार्यले भने, ‘यसतर्फ सरकारले ध्यान दिनुपर्छ  ।’

अन्तर्राष्ट्रिय बजारको मूल्य पेट्रोलियम निर्यात राष्ट्र (ओपेक)ले निर्धारण गर्छ  । कार्टेलिङका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ घटबढ हुन्छ  । निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो  । स्वचालित मूल्यअनुसार भारतीय आयल निगम (आइओसी) ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ  । सोही अनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ  ।
तर, हाल मूल्य घट्ने क्रममा रहेकाले मूल्यवृद्धि जायज नभएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्  । उनीहरूले स्वचालित मूल्यको नामकरण गरेर अस्वाभाविक रूपमा मूल्य वृद्धि गरेको दाबी छ  । ‘४ वर्षअघि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रति ब्यारेल १ सय ३७ डलर थियो । त्यसबेला प्रतिलिटर पेट्रोल १ सय ८ रुपैयाँ कायम गरेको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ६५.८१ डलर भए पनि पेट्रोलको बजार मूल्य १ सय १३ रुपैयाँ तोकिएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘इन्धनको मूल्यवृद्धि उचित होइन ।’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार र आईओसीले पठाएको मूल्यसूचीका आधारमा मूल्य निर्धारण गरेको बताए । ‘आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार स्वाचालित मूल्य प्रणालीअनुसार नै मूल्य निर्धारण गरेका छौं,’ उनले भने । केही दिनअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर पुगेकाले असर गरेको उनले बताए ।

सरकारले इन्धनको मूल्यवृद्धि हुँदा सर्वसाधारणलाई राहत दिन मूल्य स्थिरीकरण कोष स्थापना गरेको छ । उक्त कोषमा करिब ५ अर्ब रुपैयाँ छ । पेट्रोलियम प्रदार्थको अन्तर्राष्ट्रिय मूल्यमा हुने उत्तारचढावमा स्थानीय बजारमा आपूर्ति सहजीकरण गर्न मूल्य स्थिरीकरण कोष’ स्थापना गरेको हो ।

इन्धनको मूल्य वृद्धि हुँदा कोषको रकम परिचालन गरेर सर्वसाधारणलाई सस्तोमा इन्धन उपलब्ध उद्देश्यले कोष खडा भएको थियो । तर कोष परिचालन हुन सकेको छैन । प्रवक्ता गोइतले भने उक्त कोषको रकम परिचान गर्ने अवस्था नभएको दाबी गरे । ‘कोषमा करिब ५ अर्ब रुपैयाँ छ । उक्त रकम परिचालन गरेका छैनौं,’ उनले भने, ‘विशेष परिस्थितमा रकम परिचालन गर्छौं ।’ नयाँ मूल्यअनुसार पाक्षिक घाटा १८ करोड रुपैयाँ अनुमान गरिएको छ ।

मूल्य घट्ने क्रममा रहेकाले नोक्सान नहुने जानकारहरू बताउँछन् । ‘मूल्य तीन दिन अघिको हो,’ अध्यक्ष महर्जनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा घट्ने क्रममा रहेकाले घाटा हुँदैन ।’ मूल्य समायोजन गर्दा दुई प्रतिशतभन्दा बढी बढाउन/घटाउन सञ्चालक समिति अथवा सरकारको स्वीकृति चाहिन्छ । तर, पेट्रोल, डिजेल र मट्टितेलमा प्रत्येकमा ३ रुपैयाँ वृद्धि भएको छ ।
हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय बजारको मूल्यले स्थानीय बजारमा निर्देशित गर्ने बताए । ‘छिमेकी पारिको मूल्य पनि हेर्नुपर्ने हुन्छ । छिमेकी बजारमा मूल्य अत्यधिक बढी हुँदा हामीले कम मूल्यमा बेच्न खोज्दा पनि हाम्रा उपभोक्ताले ती सामान पाउँदैनन्,’ आइतबार संसद्‌मा सम्बोधन गर्दै उनले भने, ‘त्यसैले सीमान्त रूपमा मूल्य बढाउँदै लैजानुपरेको हो । हामीले मूल्यवृद्धि गर्दै लैजाने गर्नुपर्छ ।’ अन्तर्राष्ट्रिय मूल्य र सीमापारिको पेट्रोल/डिजेलको मूल्यको आधारमा मूल्य बढेको उनले दाबी गरे ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot