Logo

छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य



झापा, २४ जेठ । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ ।

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उहाँ उमेर नहुँदै आमा बन्नुभयो । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसक्नुभएकी उहाँले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उहाँका चारै सन्तान छोरी हुनु ।

सीता त उदाहरण मात्रै हुनुहुन्छ । उहाँको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताउनुभयो । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।”

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्