Logo

कांग्रेस जिल्ला सभापति भेला हेटौंडामा सुरु हुँदै



काठमाडौं ५ असार । कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु हुँदै छ । निर्वाचन समीक्षा बैठकपछि बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला हुन लागेको हो । ५, ६ र ७ असार गरी तीन दिन चल्ने भेलाले पार्टीको विधान संशोधनका विषयमा आधार तयार गर्ने र पार्टीको तल्लो तहको वर्तमान अवस्था बुझेर आगामी रणनीति तय गर्ने बताइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधानले व्यवस्था गरेको नयाँ संरचनाअनुसार पार्टीको विधान संशोधन र संघीय संरचनामा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा बैठकले आधार तयार गर्ने बताए ।

‘नयाँ व्यवस्थाअनुसार पार्टीको विधान संशोधन र त्यहीअनुसार पार्टीको संरचना कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा बैठक केन्द्रित हुनेछ,’ प्रवक्ता शर्माले भने ।

उनले भेलाअघि हिजो हेटौंडामा नै केन्द्रीय समिति बैठक बस्ने समेत जनाए । यस्तै बैठकले भेलाबारे थप एजेन्डासमेत तय गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल गर्ने जानकारी दिए ।

भेलामा विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल गर्ने गरी यसअघि बसेको केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।

भेलामा निर्वाचनमा बेहोर्नुपरेको पराजयमा पार्टी नेतृत्व तहबाट भएका कमी–कमजोरी, आगामी दिनमा अंगीकार गर्नुपर्ने रणनीतिलगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्