काठमाडौँ, १२ असार । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो ।
एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउनुहुन्छ ।
“केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उहाँको भनाई छ ।
ठमेलको अमृतमार्गमा दुई दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका किरणदेव घिमिरे बाटो विस्तारका क्रममा जथाभावी खनेका कारण आवतजावतमा समस्या परेको बताउनुहुन्छ । “बाटो विस्तारका कारण व्यवसायमा समेत समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ ।
अमृतमार्ग अगाडि व्यास ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोले गर्दा मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउनुहुन्छ ।
“सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने भनेको छ, तर ठमेलभित्रको बाटोको अवस्था यस्तो छ, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ?,”–उहाँ प्रश्न गर्नुहुन्छ ।
माथि उल्लेखित व्यवसायी प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका अधिकांश व्यवसायीलाई बाटोले गर्दा समस्या उत्पन्न गराएको छ ।
अहिले नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोषसम्मको बाटो विस्तार तथा कालोपत्रे नहुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुल गर्न समस्या परेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको ठमेलमा विस २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्रका रुपमा विकास गरेपनि बाटोमा जम्ने पानी र खाल्डाखुल्डीले समस्या उत्पन्न गराएको हो ।
यो पनि पढ्नुहोस्
सर्वेन्द्रको अर्को कदमः ठमेल ‘सवारीमुक्त’ क्षेत्र
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी ल्याउनका लागि बाटो विस्तार गर्दा खाल्डो परेको बताउनुहुन्छ । “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप बिच्छाउँदा तथा ढल निर्माण गर्दा बाटोको यो अवस्था आएको हो,”– उहाँ भन्नुहुन्छ ।
सञ्चयकोष अगाडि भासिएको सडक पुनःनिर्माण गरिसकिएको र बाँकी सडक पनि केही दिनमानै कालोपत्रे गरिसक्ने उहाँको भनाइ छ । ठमेल क्षेत्रको अधिकांश भाग कामनपा वडा नं २६ मा पर्छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको बताउनुहुन्छ । “पानी परेका कारण बाटो विस्तार हुन ढिलाई भएको छ,”–उहाँ भन्नुहुन्छ ।
महानगरपालिका जतिसक्दो चाँडो उक्त सडकलाई कालोपत्र गर्ने दिशामा अगाडि बढेको उहाँको भनाई छ । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड १० लाख बजेट विनियोजन गरिसकेको उहाँ बताउनुहुन्छ । वडा नं २६ लाई उपत्यकाको नमूना वडा बनाउन वडा कार्यालय लागिपरेको र केही समयमा नै नमूना वडा बन्ने अध्यक्ष तिवारीको भनाइ छ । रासस