Logo

गाउँमा स्वास्थ्य केन्द्र खुलेपछी स्थानीय हर्षित



मोहन तामाङः संखुवासभा, १४ असार । खाँदबारी नगरपालिका वडा नं २ चेवाबेसीमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच बुधबार स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।

केन्द्रको स्थापनाले स्थानीय खुशी भएका छन् । यससँगै उनीहरु सामान्य बिरामी हुदाँ पनि करिब तीन घण्टाको पैदल हिडेर खाँदबारी, तुम्लिङटार पुग्नुपर्ने बाध्यता हटेको छ । केन्द्रको स्थापना भएसंगै भोजपुरको षडानन्द नगरपालिका र साल्पाशिलिछो गाउँपालिकाका स्थानीय पनि लाभान्वित हुनेछन् ।

कार्यक्रममा बोल्दै मेयर मुरारी प्रसाद खतिवडाले यस क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका कारण यसको स्थापना गर्नु परेको बताए । उनले स्थापना गर्नु मात्रै ठूलो कुरा नभएको भन्दै यसलाई टिकाउन भने चुनौति रहेको बताए । उनले कर्मचारीले काम गरेनन् भनेर गाली गर्नु भन्दा कर्मचारीलाई काम लगाउने जिम्मा स्थानीयको भएको पनि बताए ।

स्थानिय तहको निर्वाचन पश्चात एक वर्षमा जनप्रतिनिधिले गरेका काम प्रति इंकित गर्दै मेयर खतिवडाले भौतिक पुर्वाधार निमार्ण गर्नु मात्रै विकास नभएर जनताहरु स्वास्थ्य, शिक्षा र सूचनाको पहुँचमा पुग्नु पनि विकास भएको टिप्पणी गरे । स्वास्थ्य शाखाका डा.अमुल्य दाहालले २ नं. बासीले औषधि अभाव भयो भनेर जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था आउन नदिने दावी गरे ।



प्रतिक्रिया दिनुहोस्