काठमाण्डौ, २१ असार । कोलम्यिबा र इंग्ल्यान्डबीच क्वार्टरफाइनल खेलको एक दिनअघि मिडफिल्डर फावियन डेल्फ अचानक होटेल छाडेर घरतर्फ लागे । इंग्ल्यान्डका लागि महत्वपूर्ण रहेको खेल छाडेर मिडफिल्डर फावियन अचानक घर फर्किनुको एउटै कारण थियो, उनकी श्रीमती गर्भवती छिन् । डाक्टरले कुनै पनि दिन डेलिभरी हुन सक्ने बताएपछि फावियनले इंग्लिस क्याम्प छाडेको ब्रिटिस मिडियाले जनाएका छन् ।
बेल्जियमविरुद्धको समूह चरणमा उनी पहिलोपटक टिममा परेका थिए । यद्यपि, पहिलो रोजाइका खेलाडी नरहे पनि प्रशिक्षक गेराथ साउथगेटले उनलाई आवश्यक पर्दा खेलाउन लिस्टमा राखेका थिए ।
प्रशिक्षक गेराथले कोलम्बियाविरुद्धको खेलमा अधिकारीलाई बुझाएको लिस्टमा फावियनको पछि ‘एब्सेन्ट’ भनी लेखाए । प्रशिक्षक गेराथले खेलाडीको निजी जीवनमा हस्तक्षेप गर्न कसैलाई पनि अधिकार नभएको बताएका छन् ।
यो पनि पढ्नुहोस्
विश्वकपमा आजबाटका खेलहरु बढि रोमाञ्चक
नेपाल, फल्कल्याण्ड, अर्जेन्टिनाबीचको सम्बन्ध र भ्रम
विश्वकपः ११ सेकेन्डको गोलदेखि, मृत्युदण्डको कहानिसम्म
शारिरीक अपाङगता भएका प्रशिक्षकको रोचक विश्वकप यात्रा
‘कहिलेकाहीँ घरपरिवारको कुरा आउँदा हामी लचिलो हुनुपर्छ, फुटबलभन्दा पनि ठूलो परिवार हो, परिवारपछि मात्र फुटबल आउँछ,’ फावियन घर जानुको कारण बताउँदै गेराथले भने, ‘यो समयमा उनले परिवारलाई समय दिनुपर्छ, फावियन तेस्रो बच्चाको पिता बन्दै छन् ।’
यता, लन्डन पुगेका फावियनले प्रशिक्षक गेराथको प्रशंसा गरेका छन् । प्रशिक्षकलाई आफ्नो अवस्था रिपोर्ट गर्दा उनले सहजै बिदा दिएको उनले बताए ।
‘विश्वकपजस्तो प्रतियोगिता चलिरहँदा घर फर्किनुपर्दा दुःख लागेको छ, तर मैले श्रीमतीको अवस्था उहाँलाई बताउँदा सहजै घर जान अनुमति दिनुभयो,’ फावियनले भने, ‘मेरो नजरमा पनि परिवार नै पहिलो हो, त्योभन्दा अगाडि अरू केही हुन सक्दैन ।’
करिअरकै पहिलो विश्वकपमा खेल्न पाउँदा ज्यादै खुसी लागेको उनले बताए । बेल्जियमसँग १–० ले हार्दा उनले पहिलो सेटमै प्रतिस्पर्धा गरेका थिए ।
२८ वर्षीय फावियनले विश्वकप खेल्ने आफ्नो सपना पूरा भएको बताए । ‘इंग्लिस जर्सीमा विश्वकप खेल्ने सपना थियो, मैले यो पूरा गरेको छु,’ उनले भने, ‘तर, इंग्लिस टिम फाइनलसम्म पुग्दा म पनि साथमा हुनेछु ।
नयापत्रिका