काठमाण्डौ, २१ असार । नाइजेरियाको फुटबल क्लबका कप्तान जोन ओबी माइकलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल हुनु केही घण्टा अघि बुवा अपहरणमा परेको सनसनिपूर्ण खुुलासा गरेका छन । यसबारे तत्काल कसैलाई जानकारी नदिई आफूले खेल खेलेको उनले बताए । उक्त खेलमा नाइजेरिया अर्जेन्टिनासँग २–१ ले हारेको थियो।
स्रोतको जानकारी अनुसार जून २६ तारिखमा जोनका बुवा माइकल ओबीलाई उनका आफुनै ड्राइभरले अपहरण गरेका थिए । जुलाई २ तारिखमा उनलाई पुलिसले अपहरणमुक्त गरेर अहिले अस्पतालमा उपचार गराई रहेको स्रोतले बतायो । जोनका अनुसार देशमा अत्यधिक असुरक्षाको माहौल भएकाले मानिसहरुमा चिन्ताको स्थिती छ ।
झट्का भुकम्प भन्दा कम थिएनः
जोनका अनुसार उनले खेल सुरु हुनु चार घण्टाअघि उनलाई बुवा अपहरण गरेको थाहा पाएका थिए । उनले भने, ‘म पूर्ण रुपमा विक्षिप्त थिएँ । म खेल खेल्ने कि नखेल्ने भन्ने द्वीधामा थिएँ । तर अन्त्यमा मैले १८ करोड नाइजेरियाली जनताको आशा तोड्न सकिनँ । मैले सोच्न बन्द गरें र देशलाई अग्रस्थानमा राखें । बुवा अपहरण भएको सूचना मैले कोच वा कुनै साथी खेलाडीलाई समेत भनिनँ । मेरो तनावले टीमको अरु सदस्यलाई पनि असर पारोस् भन्ने चाहन्नँ । ’
यो पनि पढ्नुहोस्
नेपाल, फल्कल्याण्ड, अर्जेन्टिनाबीचको सम्बन्ध र भ्रम
शारिरीक अपाङगता भएका प्रशिक्षकको रोचक विश्वकप यात्रा
विश्वकपः ११ सेकेन्डको गोलदेखि, मृत्युदण्डको कहानिसम्म
उनले थपे, ‘मैले घटनाबारे कसैलाई भनें भने अपहरणकारीले मेरो बुवाको हत्या गरिदिने धम्की दिएका थिएँ ।’ बुवा अपहरणमुक्त भएकोमा उनले भगवानलाई धन्यवाद दिएका छन् । उनले भने, ‘म पुलिसलाई पनि धन्यवाद दिन चाहन्छु जसको प्रयासले मेरो बुवा परिवारसँग भेट्न पाए ।’
यस्तो जसलाई पनि हुनसक्छः
सात वर्षमा दोस्रो पटक जोनका बुवा अपहरणमा परेका हुन् । जोन भन्छन्, ‘दोस्रो पटक अपहरणमा पर्दा मलाई बुवा गुमाउने डर लाग्यो । नाइजेरियामा तपाईंको के हैसियत छ, त्यसले केही महत्व राख्दैन । हरेक व्यक्तिले सुरक्षित स्थानमा बस्न पाउने अधिकार छ । आज यस्तो घटना मेरो बुवासँग भयो, भोली अर्को व्यक्तिलाई होला, यो जसलाई पनि हुनसक्छ ।’
चेल्सीका मिडफिल्डर जोन अहिले चीनियाँ क्लब तियानजिन तेदाका लागि खेल्छन् ।
एजेन्सिको सहयोगमा