Logo

शिशुकल्याण माविमा छात्रावास निर्माण



म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा करीब १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो ।

वडाको प्रस्तावमा गाउँपालिकाको १० लाख अनुदान र स्थानीयवासीको दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताए ।

विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । फर्निचरको व्यवस्था गरेर छात्रावास सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

एसईई परीक्षाको तयारी र टाढाका विद्यार्थीलाई आवासीय सुविधाका लागि छात्रावास सञ्चालन गरिँदै आएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पर्यटकीयस्थलमा शौचालय निर्माण

यसैबीच, म्याग्दीको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–२, भुरुङ, तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ । भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवतजावत गर्ने यात्रुको सुविधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा आठलाख तीन हजारको लगानीमा शौचालय निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्याम रानाले जानकारी दिए ।

शौचालय निर्माणका लागि नेपाल सरकारको तीन लाख ९४ हजार ७७१, फिनल्याण्ड सरकारको रु एक लाख ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालिकाको ३२ हजार ५०४, स्थानीयवासीको आठ हजार ३४ नगद र एक लाख ८४ हजार ७९१ बराबरको श्रमदान भएको छ ।

जिल्ला समन्वय समितिको सहजीकरणमा निर्माण भएको सार्वजनिक शौचालयको बिहीबार वडाध्यक्ष ओमप्रकाश फगामीले उद्घाटन गरेका गरेका थिए । सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक शौचालय प्रभावकारी बन्ने वडाध्यक्ष फगामीले बताए ।

बेनी जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी संकलन गरिएको तलाउमा स्नानका लागि वार्षिक एकलाख जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्