Logo

शिक्षित अभिभावकका सन्तान सामुदायिक विद्यालयमा



ललितपुर, २२ असार । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालय प्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ ।

वैशाख महिनामा भर्ना अभियान शुरु भएसँगै यो विद्यालयले स्थानीय अभिभावक, स्थानीय निकाय र बुद्धिजीवीसँग यही विषयमा छलफल गर्न थालेको सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए ।

अभिभावकलाई सामुदायिकमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने भएपनि सम्झाउन सकिने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । उनले भने “केही वर्षदेखि निरन्तर लागेका छौँ र नतिजा पनि देखिँदैछ ।”

विद्यालयले केही वर्षदेखि कार्यरत शिक्षकका सन्तान सामुदायिकमै पढाउन शुरु गरेको जानकारी दिएका छन् । शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको हो ।

उनले भने “जसरी अहिले विद्यालय शिक्षकका छोराछोरी पढ्ने विद्यालय भन्ने छाप छ त्यसरी नै शिक्षित आमाबाबुका छोराछोरी पढ्ने विद्यालय भनेर चिनाउने हाम्रो योजना छ ।” आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावक पनि सन्तान भर्ना गराउन आउन थालेको सह–प्रधानाध्यापक थापाले बताए ।

शिक्षित अभिभावकले सन्तान सामुदायिकमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जानेछ । उनले भने “पढे–लेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइन रहेछ भन्ने सन्देश फैलन्छ ।” विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्ष पहिलेदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ । रासस



प्रतिक्रिया दिनुहोस्