Logo

कम्प्यूटर एशोसियशन नेपालको छात्रवृत्ति



सुर्खेत, २५ असार । कम्प्यूटर एशोसियशन नेपाल महासंघ क्यान ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो ।

सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताएका छन।

उनले फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चार र आइसिटी मेरिट स्कलरसिपबाट तीन जना गरी एक प्रदेशबाट सातजनालाई छात्रवृत्ति प्रदान गरिने जनाए। “छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेशियाको एशिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँमा स्नातक तहअन्तर्गत बिएस्सी आइटीको अध्ययन गर्न पाउने छन्,” उनको भनाईरहेको छ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सोसरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत ल्याएकाले आवेदन दिन पाउने जनाएका छन । त्यसको साथै सिटिइभिटीबाट कम्प्यूटर इञ्जिनियङिमा स्नातक गरेकाले पनि छात्रवृत्तिका लागि दरखास्त हाल्न पाउने उनले बताए ।

छात्रवृत्तिका लागि साउन ९ गतेसम्म अन्तिम मिति राखेको क्यान महासंघले केन्द्र प्रदेश र जिल्लास्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने जनाएको छ । कार्यक्रममा कर्णालीका दुर्गम जिल्लाका गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्