
धनराज वास्तविकः काठमाडौं, २५ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान सरकार अधिनायकवादी बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सकिने दिन आएको बताएका छन् ।
संघीय राजधानी काठमाडौंको जमल स्थित राष्ट्रिय नाच घरमा कर्णाली प्रदेश पर्यटकिय तथा साँस्कृतिक संरक्षण केन्द्रले आयोजना गरेको सम्मान तथा छात्रवृति वितरण कार्यक्रममा बोल्दै नेता खाँणले यस्तो बताएका हुन ।
उनले भने, ‘ज्ञानेन्द्र शाह पछि सकिने पालो प्रधानमन्त्री ओलीको आएको छ, राजतन्त्रले अपनाएका बाटाहरु उहाँले अबलम्बन गर्दै हुनुहुन्छ, माईतीघर, रानिपोखरी स्थित शान्तिबाटिका लगाएका स्थानहरु निषेधित क्षेत्र घोषणा गर्नु भएको छ, याद रहोस् तपाईले निषेध गरेका स्थानहरु राजतन्त्रले निषेध गरेपछि राजतन्त्र सकिएको थियोे, अधिकारको लागि जनताले बोल्न नपाउँने ? दवाउन खोज्नु नै सकिने लक्षण हो, ख्याल गर्नुस्, जनताको अस्तित्व निस्जेत गर्न खोज्नु, लोकतान्त्री धरोहरको ईतिहास बोकेको कांग्रेसलाई सिध्याउने खेलमा ओली उद्धत हुनुहुन्छ, कांग्रेस कहिल्यै सकिदैन, अब ओली आफै सकिने बाटोमा हिड्दै हुनुहुन्छ ।’
नेता खाँणले कर्णाली प्रदेशको जुम्लामा अनशनरत डा.गोविन्दको आमरण अनशनलाई कांग्रेसको पूर्ण समर्थन रहेको जानकारी दिदै सरकारलाई केसीको जीवन रक्षा र उनका मागहरु सम्बोधन गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘सामाजिक अभियान्ता बन्नु भएको डा.केसीलाई ओलीले एक्लै देख्नु भएको छ भने उहाँको त्यो भ्रम हो, केसीसँग लाखौ जनताहरु छन्, पीछडिएको क्षेत्रमा ठूलो अस्पता खोल्नुपर्छ भन्नु डा.केसीको गल्ति हो ? त्यहाँका जनताहरुले स्वास्थ्य सेवा नपाउने ? दुरदराजका मानिसहरुले राज्यका अधिकारहरु उपभोग गर्नुपर्छ, डा.केसीलाई समर्थन गर्न तीन जना सांसदलाई जुम्ला पठाएका थियौं, ओलीले चाहेको जसरी केसीको घाटी निमोठेर गरिब जनताका आवाजहरु बन्द हुन सक्दैनन्, ।’
कर्णाली प्रदेश पर्यटकिय तथा साँस्कृतिक संरक्षण केन्दका अध्यक्ष टेकराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस नेताहरु, मुक्ति प्रसाद न्यौपाने, मोतीराज बम, ऋषि केशजंग शाह, नेविसंघका प्रवक्ता प्रेम जोशी लगायतले आफ्ना कुराहरु राखेका थिए ।
तस्बिर-उमेश योगी