Logo

बालबालिकामा वर्ल्डकप फिभर



काठमाडौं २६ असार । जीत निश्चित भन्दै उत्साहित बनेर विश्वकप फुटबल हेरिरहेका अद्वैत थापाले जर्मनी हारेपछि तीन दिनसम्म टेलिभिजन नै हेरेनन्। नयाँ बानेश्वरस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत उनले खेल हेर्न छाडेपछि पटकपटक भने, ‘मेरा विरोधी सबै टिमले पनि हारून्।’

‘जर्मनीले हारेपछि अद्वैतले दिक्क मान्यो, खाना खाएन अनि रुन मात्र सकेन’, बालकोट निवासी आमा सुनिताले भनिन्, ‘उससँग पढ्ने मुड पनि थिएन, खेलाडी त राम्रा हुन् तर किन जर्मनीले गोल गर्न सकेन भनेर प्रश्न मात्रै गर्छ।’

कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीनिवासी मानव शाही अर्जेन्टिनाका फ्यान थिए। उनलाई मनपर्ने खेलाडी मेसी। सात वर्षीय मानव साथीभाइसँग सोधिरहन्थे, ‘मेसीको जन्मदिन कहिले ? उसका बुबाआमा के गर्छन् ? दाजुभाइ कतिजना रैछन् ? ’ घरमा दिदीले ‘मेसीले हार्‍यो अब अर्जेन्टिनाले खेल्न पाउँदैन’ भन्दा विश्वकपबारे पूर्ण ज्ञान नभएका मानव रिसाएर भन्थे, ‘हारेको होइन, सेमीफाइनलमा खेलिहाल्छ नि।’

मानवलाई उनका बुबाले अर्जेन्टिनाको जर्सी ल्याइदिएका थिए। आफूलाई मेसी विशेष देखाउन उनले बुबालाई १० नम्बरकै जर्सी किन्न लगाए। मिनिल्यान्ड बोर्डिङ हाइस्कुलमा अध्ययनरत मानवको अहिले परीक्षा चलिरहेको छ। अर्जेन्टिनाले हारे पनि मानव पढ्न छाडेर खेल छुटाउँदैनन्। भन्छन्, ‘परीक्षा त आइरहन्छ, विश्वकप आउन चार वर्ष लाग्छ।’

असार १ गते रसियामा उद्घाटन भएको विश्वकप फुटबल असार ३१ गते फाइनल म्याच हुँदैछ। यसपटक ३२ राष्ट्र सहभागी छन्। यसबीच २८ राष्ट्र बाहिरिइसकेका छन्। क्वार्टर फाइनलका खेल सकिएर मंगलबारदेखि सेमी फाइनलका खेल हुँदैछन्।

विश्वकप चलिरहँदा अभिभावकसँगै बालबालिका पनि यसमा ‘क्रेजी’ देखिएका छन्। खेल हेर्ने प्रत्येक बालबालिका आफूलाई मन पर्ने राष्ट्र र खेलाडीका फ्यान बनेका छन्। कसैले मन पर्ने देशको त कसैले खेलाडीकै नम्बर भएको जर्सी लगाउने गरेका छन्। कतिपय जर्सी लगाएर टिम बनाएरै मैदानमा फुटबल खेलिरहेका छन्। एकआपसमा बाजी राख्ने गर्छन्। जित्दाको खुसीले उनीहरूमा सकारात्मक उर्जा दिएको छ भने हार्दा निराश हुने, खाना नखाने, पढ्न मन नगर्ने पाइएको छ।

‘आफूले रोजेको राष्ट्र वा खेलाडीले हार्‍यो भने बालबालिकामा नराम्रो मनोवैज्ञानिक असर परेको पाइएको छ’, मनोविद् करुणा कुँवरले भनिन्, ‘उनीहरू घरदेखि विद्यालयसम्म नै अनुत्पादक हुने गरेका छन्।’ आफूलाई कमजोर महसुस गर्दै जाँदा भाइरल इन्फेक्सन हुनेदेखि रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने उनको भनाइ छ। कुँवरका अनुसार फुटबलकै कारण छोराछोरीले खाना नखाएको, रातमा ननिदाएको, निदाइहाले तर्सिएको र पढ्न मन नगरेको अभिभावकले गुनासो गरेका छन्।

मनोविद् कुँवर घरमा अभिभावक र विद्यालयमा शिक्षक शिक्षिकाले बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्नेमा जोड दिन्छिन्। उनले भनिन्, ‘विश्वकप सँगै बसेर हेर्दिने तर कुनै पक्षको पनि अति क्रेज हुने अवस्था ननिम्त्याउने र हारे पनि सहज रूपमा लिनुपर्ने जस्ता कुरा सिकाउनुपर्छ।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्