धनराज वास्तविक: काठमाडौं, २६ असार । नेपाली लोक तथा दोहोरी गीतका सम्बन्धमा सम्पूर्ण ज्ञान भएका मानिसहरु कम छन् । यस बिधाको बिकास, विस्तार र संरक्षणको लागि धेरै सर्जक कलाकारहरुको उपस्थिति रहने गर्दछ । हिजोका दिनमा पनि थियो, भाेिलका दिनहरुमा रहनेमा दुईमत नहोला ।
गत आईतबार सम्पन्न ‘ओ यस म्युजिक अवार्ड २०७५’ ले भने केही गम्भिर प्रश्न उठाएको छ । जुन अवार्डमा २०७४ सालमा सार्वजनिक गरिएका लोक तथा दोहोरी गीतका अनेकन बिधाहरुमा बिभाजित गरेर दर्जनौं कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।
लोकप्रिय निर्देशक प्रकाश भट्टले आफ्नो फेशकुबमा चाकडी गरेर, पैसामा किनेर, अवार्ड बाढेको र प्राप्त गरेको भनेर लेखेका थिए । जुन स्टाटस उनले हटाई सकेका छन् । केही अन्य कलाकारहरुले पनि यस्ता खाले प्रतिक्रिया दिएका छन् ।
नेपालमा अवार्ड मानौं एक फेशन हो । जसले गरेपनि हुने । जसरी गरेपनि हुने । जसले प्राप्त गरेपनि हुन । कुनै मापदण्डको पालना नगर्नु पर्ने । यस्ता खालका अवार्डहरुले धेरै पटक नकारात्मक टिप्पणी उठाए पनि लोक तथा दोहोरी क्षेत्रमा निर्देशक तर्फको पाटोमा प्रख्याति कमाई सकेका व्यक्तिहरुले टिप्पणी गरेको भने पहिलो पटक हो ।
लोक तथा दोहोरी बिधामा स्मृति तिमिल्सिना जमेको नाम हो । पछिल्लो समयमा उनले निर्देशन गरेका गीतहरुले बजारमा राज जमाउन सफल भएका छन् । यसै सन्दर्भमा सिरियस गीत तर्फको उत्कृष्ठ भिडियो निर्देशकको अवार्ड जित्न सफल स्मृति तिमिल्सिनासँग कुराकानि गरेका थियौं । सम्पादिन अंशः
‘ओ यस म्युजिक’ अवार्डबाट अवार्डडेट हुँदा कस्तो महसुस गर्नु भयो ?
खुसि लागेको छ । सर्वाधिक चर्चामा रहेको गीतले अवार्ड पाएको हो । आफूले गरेका कामहरु सबै राम्रो लाग्छन् । केही सुधार गर्नुपर्ने छन् जस्तो लागेमा अर्को पटक सुधार गरिन्छ ।
अवार्ड पैसामा किन्नु भएको त होईन नि ?
लौ के सुन्नु पर्यो ?
बजारमा यस्तै हल्लाहरु चलेका छन् नि ? पढ्न पाउनु भएन र ?
पढेकी थिए । बजारमा आएका प्रतिक्रियाहरुले नाम तोकेर नलेखेको भएता पनि अवार्ड प्राप्त गर्नेलाई नै लेखेको हो भन्नेमा कुनै दुईमत छैन् । प्रकाश भट्ट सरले फेशबुकमा लेख्नु भएको थियो । उहाँ मेरो गूरु हो । म सँधै सम्मान गर्छु । तर उहाँको त्यो लेखाईले अनेक प्रश्न उठाएको चाँही छ ।
पैसामा किनेर, चाकडी गरेर मैले अवार्ड जितेकी होईन । तपाईले पनि उहाँकै स्टाटस पढेर यस्तो प्रश्न गर्नु भएको हुनसक्छ । म मैदानको रिजल्ट स्वीकार गर्ने मानिस हुँ । अवार्ड हार्दा प्रतिक्रिया नदिने र जित्दा अरुलाई गिराएर मानिस होईन । हार जित स्वीकार गर्न सक्नुपर्छ ।
तपाईको प्रतिष्पर्धी पनि प्रकाश भट्ट नै हुनुहुन्थ्यो नि होईन र ?
हो । उहाँ मात्रै होईन ४ जना सरहरु हुनुहुन्थ्यो । कपिल लामा, शिवम पोखरेल, क्रन्ति केसी लगायत हुनुहुन्थ्यो । ‘आँसुको कारखाना’ बोलको गीतबाट मैले अवार्ड पाएकी हुँ । आफूले पाउँदा सुनका ढल्ला हुने र अरुले पाउँदा फलामका डल्ला हुने जस्ता प्रतिक्रिया दिनुले खल्लो महसुस गराएको छ ।
लोक तथा दोहोरी क्षेत्रमा एकमात्र नारि निर्देशक तपाईले अवार्ड पाउँदा किन यस्तो आरोप लगाएका होलान् ? के लाग्छ तपाईलाई ?
सर्व प्रथम त म नारि हुँ । मैले गरेका दुःखहरुमा आयोजकले बिचरा भन्नुपर्छ र अवार्ड दिन लाएक सम्झिनु पर्छ भनेर भन्दिन । निर्देशनमा लागेको तीन वर्ष जति भयो । काममा विश्वास गर्ने मानिस हुँ । मेरा कामहरुले दर्शकको मन जित्नुपर्छ ।
अरुले के भन्यो भन्दा पनि मेरा कामहरुले दर्शकको मन जिते कि जितेनन् ? म त्यसको चिन्ता गर्छु । बजारमा आएका प्रतिक्रियाहरुले एउटा कुराको जवाफ दिनुपर्छ स्वयम आफू पनि प्रतिष्पर्धी भएर मैदानमा हार्ने अनि अनेक आरोप लगाउने ? आरोपहरुलाई प्रमाणित गर्नुपर्छ । अवार्डडेट भएका कलाकाहरुले कति पैसा तिरे ? कसले चाकडी गरे ? त्यसको जवाफ दिनु पर्छ कि पर्दैन ?
हाम्रो समाजले नारीलाई हेर्ने दृष्टिकोण बदल्न अझैं बाँकि छ, उसो भए ?
बाँकि छ । पुरुष प्रदान सोचले अझै जरा गाढेको छ । महिलाले गरेका कामहरु कम्जोर हुन्छन् । केही गर्न सक्दैनन्, जस्ता कुराहरु सोच्ने कानसिकता छ । त्यसको परिणाम स्वरुप बजारमा हल्का खाले हल्ला आएका हुन । मेरो प्रतिष्पर्धी म नै हुँ । मैले कुनै निर्देशकलाई जित्नु छैन् । मैले दर्शकको मन जित्नु छ । मेरो विश्वास गरेर काम दिने लगानी कर्ता कलाकारहरुको मन जित्नुपर्छ ।
यो पनि पढ्नुहोस्