काठमाडौं २७ असार । नेपालबाट उपहारस्वरूप पाएको एकसिंगे गैंडाबाट चीनले कृत्रिम गर्भाधान गराएर संख्या बढाउन नपाउने भएको छ ।
फोटोः चीनलाई उपहार दिन बुमामा राखिएको गैडा । फोटो सौजन्यः चितवन राष्ट्रिय निकुञ्ज । प्रधानमन्त्री केपी ओलीले बिहीबार चीन सरकारलाई चितवनबाट ल्याइएका भाले ‘भद्र’ र पोथी ‘रूपसी’गैंडा हस्तान्तरण गर्दैछन् ।
उपहारको गैंडा लिन चीनबाट कार्गो विमान बिहीबार मध्याहन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछ । बिहीबार ३ बजे नेपाली सिकर्मीले बनाएका दुइटा खोरमा राखिएका गैंडा बोकेर चिनियाँ विमान ग्वान्जाओ उड्नेछ । विमानमा पशु चिकित्सकसहित प्राविधिक पनि आउनेछन् ।
वन तथा वातावरण मन्त्रालय र चीनको राज्य वन प्रशासन (द स्टेट फरेस्ट्री एडमिनिस्ट्रेसन) बीच भएको सम्झौतामा उपहारस्वरूप दिइएका गैंडाबाट कृत्रिम प्रजनन विधि अपनाएर संख्या बढाउन नपाउने उल्लेख छ ।
मन्त्रालय र चीनबीच १५ महिनाअघि पालना गर्नुपर्ने बुँदाबारे सम्झौता भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले उपहार दिइएका गैंडाबाट चीनले कृत्रिम प्रजननका साथै ‘जेनेटिकल्ली मोर्डिफाइ अर्गानिज्म र लिभिङ मोडिफाइ अर्गानिज्म’ को अनुसन्धानसमेत गर्न नपाउने बताए ।
चीनले कृत्रिम प्रजननमार्फत बाघको संख्या ५ हजार पुर्याएको छ । ‘कुनै पनि कृत्रिम प्रजननमार्फत उपहार दिइएका गैंडाबाट संख्या विस्तार गर्न निषेध गरिएको छ,’ महानिर्देशक खडकाले कान्तिपुरसँग भने, ‘गैंडा दिनुको मुख्य उद्देश्य दुई देशबीच द्विपक्षीय सहयोग र सहकार्यलाई प्रोत्साहन गर्नु हो ।’
चीनलाई उपहार दिइने गैंडा मंगलबार नै चितवन, सौराहाबाट खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा राखिएको छ । कोषको कार्यालयमै हस्तान्तरण गर्न विशेष कार्यक्रम तय गरिएको खडकाले बताए । गैंडासँगै नेपाली पशु चिकित्सक कमल गैरे र हेरचाहमा संलग्न केयर टेकर चीन जानेछन् ।
अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा २०७३ असार २६ मा चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय भएको थियो । तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले चीनलाई गैंडा उपहार दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । अर्को जोडी आगामी आर्थिक वर्ष २०७५/७६ मा हस्तान्तरण गरिनेछ । कान्तिपुरबाट