Logo

चीनलाई उपहार दिइने गैँडा काठमाडौं ल्याइयो



काठमाडौं २७ असार । नेपाल सरकारले चीनलाई उपहारस्वरूप दिन लागेका एकजोडी गैँडालाई काठमाडौं पठाइएको छ । काठको खोरभित्र राखिएका गैँडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर मंगलबार काठमाडौं लगिएको हो ।

२८ असारमा गैँडालाई विशेष कार्गाे एयरमार्फत चीन पठाइनेछ । चीनलाई दुई जोडी गैँडा पठाउने सरकारको निर्णयअन्तर्गत पहिलो चरणमा डेढ वर्षको भद्र र दुई वर्षकी रूपसी पठाउन लागिएको हो । डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैँडालाई ल्याएर एक विशेष प्रकारको काठको खोर (पिटबुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाइएको थियो ।

गैँडालाई ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रांगणमा राखिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । ‘हामीले जावलाखेलस्थित चिडियाखानामा राख्ने निर्णय गरेका थियौं,’ खड्काले भने, ‘त्यहाँ राख्दा गैंडामा कुनै सरुवाको लाग्न सक्ने भएकाले कोषको प्रांगणमा राख्ने निर्णय गरेका हौं ।’ कुनै रोग नलागोस् भनेर चितवनमा एक जोडी गैंडालाई छुट्टै राखिएको थियो ।

गैँडासँगै दुई चिकित्सक, तीन अन्य प्राविधिकसहित १४ जनाको टोली चीन जाँदै छ । निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाइएको हो । एक वर्षमा एक जोडी मात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकाले अर्को एक जोडी गैँडालाई अर्को वर्ष मात्रै पठाइने छ ।



प्रतिक्रिया दिनुहोस्