Logo

डा.अधिकारीमाथि गृह मन्त्रालयमा दुर्व्यवहार



काठमाडौं २९ असार । द्वन्द्वकालका घाइतेको अपागंताको मेडिकल रिपोर्ट आफ्नो अनुकूल नबनाएको निहुँमा गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारीमाथि दुर्व्यवहार गरिएको छ । सरकारी चिकित्सक संघ (गोदान) का आजीवन सदस्य समेत अधिकारीलाई मंगलबार साँझ गृह मन्त्रालयमा बोलाएर दुर्व्यवहार गरिएको हो ।

ट्रमा सेन्टरमा बिरामीको उपचार गरिरहेको अवस्थामा गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै सरकारी गाडीमा राखेर गृह मन्त्रालय लगिएका डा.अधिकारीमाथि दुर्व्यवहार गरिएको हो ।

डा.अधिकारीका अनुसार गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदीले सोधपुछ गर्दै अपांगतको कार्ड आफूहरूले भने बमोजिम गराउन निर्देशन दिएका थिए । ‘गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै एक डेढ घण्टा राखियो । अनावश्यक प्रश्न गर्दै आफ्नो अनुकूलको अपांगता कार्ड बनाउन चेतावनी समेत दिइयो । तर गृहमन्त्रीसँग भेट नै नगराई जानुस् भन्दै फर्काइयो । यस्तो दुर्व्यवहारले चित्त दुःखेको छ’, डा.अधिकारीले भने ।

डा.अधिकारीलाई मध्याह्न केही व्यक्ति ट्रमा सेन्टर पुगि द्वन्द्वकालका घाइतेको अपांग रिपोर्ट आफ्नो अनुकूल बनाउन दबाब दिएका थिए । डा.अधिकारीले पेशागत मर्यादा विपरित कुनै कार्य नगर्ने अडान लिएपछि उनीहरूले केही बेर कोठा थुनेर विभिन्न आक्षेप लगाएका थिए । यो घटनाको चार घण्टापछि गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै मन्त्रालयबाट फोन आएको थियो । आफूसँग गाडी नभएको बताएपछि मन्त्रालयबाटै पठाइएको गाडीमा चढेर उनी मन्त्रालय गएका थिए ।

झण्डै एक घण्टा सोधपुछ गरेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले माइन्ड नगर्नुहोला भन्दै फिर्ता पठाएको डा.अधिकारीले बताए । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले घाइतेले गुनासोसहितको उजुरी गरेपछि आवश्यक सोधपुछका लागि डा.अधिकारीलाई बोलाइएको जानकारी दिए । उनले भने, ‘मैले दुर्व्यवहार गरेको छैन । घाइतेलाई कसरी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल भएको हो । सौहादपूर्ण ढंगले कुरा टुंगिएको छ ।’

गृहमन्त्री बैठकमा व्यस्त भएकाले भेट गराउन नसकिएको सुवेदीले बताए ।

अपहरण शैलीमा अधिकारीलाई मन्त्रालयमा लगि दुर्व्यवहार गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले खेद व्यक्त गरेको छ । द्वन्द्वकालमा घाइते भएका तत्कालीन माओवादीका कार्यकर्ताको अपांगताको परिचय पत्र बनाइदिन उनीमाथि दबाब आउने गरेको स्रोतले दाबी गरेको छ ।

संघले बिहीबार विज्ञप्ती प्रकाशित गरी सरकारी पक्षबाट नै चिकित्सा पेशामाथि सहजै धावा बोल्दा असुरक्षित महसुस गरिएको जनाएको छ ।

दोषिमाथि कारवाही नभए पेशाको मर्यादा र अनुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ । ट्रमा प्रशासनले अपांग परिचयपत्र बनाउने कार्य हाललाई स्थगित गरिएको जनाएको छ ।

नेपाल चिकित्सक संघले पनि चिकित्सा आचारसंहिता र तोकिएको नियम विपरितगलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गर्दा गृहमन्त्रीको आदेश बमोजिम अपहरण शैलीमा गृह मन्त्रालयमा लागि दुर्व्यवहार गरिएको घटनाप्रति भत्र्सना गरेको छ ।

गृहमन्त्रीकै निर्देशनमा भनी एक निरापराध चिकित्सकमाथि भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथि नै खिल्ली उठाएको संघका महासचिव डा.लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्