काठमाडौं, २९ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संगीत बिकास बोर्ड स्थापना गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गरेको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा गएको प्रतिष्ठानका पदाधीकारीको एक टोलिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली गीत संगीतमा देखा परेका समस्याहरु समाधान गर्ने र अश्लिल हर्कत गर्नेलाई कानूनी कारबाही गर्ने निकाय नभएको स्थितिमा प्रतिष्ठानले उक्त कदम चालेको अध्यक्ष पंगेनीले रिपोर्टर्सनेपाल डटकमलाई जानकारी दिए ।
उनले भने,‘संसारका अन्य देशहरुमा आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्नको लागि कति ठूलो लगानी र जनताहरुको उपस्थिति रहेको हुन्छ तर हाम्रो देशमा आफ्नै पहिचान संस्कार, संस्कृति, कला कौशलको अस्तित्व समाप्त पार्नेमा लागि परेका हुन्छौं, सांगीतिक बजारमा जसले जे गरेपनि भएको छ, मनपरि रुपमा बिधा बिगारे पनि भएको छ, समाजलाई अपच हुने खालका गीतहरु पठाए पनि भएको छ, यसको कानूनी उपचार आवश्यक ठानेर हामीले पर्यटन मन्त्री ज्यूउलाई संगीत बिकास बोर्ड गठन गर्नको लागि ज्ञापन पत्र बुझाएका छौं ।’
पर्यटन मन्त्री अधिकारीले कस्तो प्रतिक्रिया दिनु भयो नि ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष पंगेनीले भने,‘उहाँ आफैमा पनि कलाप्रेमी ब्यक्ति हुनुहुन्छ, मन्त्री ज्यूउ सकारात्मक हुनुहुन्छ, सल्लाह गर्छु भन्नु भएको छ, केही समयमै यसका सम्बन्धमा छिनोफानो हुनेछ ।’