काठमाडौँ, २९ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज शिष्टाचार भेटवार्ता गरेका छन।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।
गृहमन्त्री थापाले नेपालका विविध क्षेत्रका साथै सुरक्षा निकायको तालीम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन।
उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गरेका छन ।
यस्तै, खुला सिमानाको फाइदा उठाउँदै हुने मानव तस्करी, सुन तस्करी, लागुपदार्थको ओसारपसारलगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकामा जोड दिए । जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताएका छन।
राजदूत पुरीले नेपाल प्रहरीको तालीम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै योसम्बन्धी कार्य अघि बढिसकेको जानकारी गराए।
भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गरेका छन। रासस