Logo

ताप्लेजुङका ७४ आरोही सम्मानित



काठमाडौँ, २९ असार । ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै त्यहाँको पर्यटन विकासका लागि पाथिभरा र सुकेटार विमानस्थलको विकास गर्नुपर्नेमा जोड दिएका छन ।

निकट भविश्यमा नै मन्त्रालयले छ वटा साना विमान ल्याउने तयारी गरेको जानकारी दिँदै उनले सोही अनुरुपको पूर्वाधार विकासका लागि मन्त्रालय अध्ययनरत् रहेको स्पष्ट पारेका थिए ।

मन्त्री अधिकारीले भने, “मुलुकमा अब राजनीतिक बहस होइन, आर्थिक बहसको आवश्यकता छ ।”

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्राकृतिकरुपमा भरिपूर्ण ताप्लेजुङ विकासको दृष्टिकोणले निकैपछि परेको उल्लेख गर्दै ताप्लेजुङको विकासका लागि त्यहाँको पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले पर्यटन क्षेत्रको विकासका लागि समयसापेक्ष नीति बनाउनुपर्ने बताए ।

कार्यक्रममा हिमाल आरोहण गर्नका लागि तालीम सञ्चालन गरी सहयोग गर्ने ३२ संस्थालाई पनि सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्