Logo

किन भएनन बिरगंजका पाँच वडा दिसामुक्त धोषणा ?



वीरगञ्ज, ३० असार । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महान गरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ ।

२९ हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताका कारण हालसम्म दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको इन्जिनियर सुनिलकुमार कर्णले बताएका छन ।

एक लाख २७ हजार २२७ महिला तथा एक लाख १३ हजार ६९५ पुरुष गरी दुई लाख ४० हजार ९२२ जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र रहेका ३२ वडामध्ये २३ वटा वडाको घरमा शौचालय भएकाले ती वडा दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं १, १५, ३० र ३१ वडा दिसामुक्त क्षेत्र घोषणाको संघारमा रहेका छन् ।

छयानब्बे प्रतिशत घरमा शौचालय भए पनि अन्य चार प्रतिशतले आफ्नो घरमा शौचालय नबनाएकाले उनीहरुलाई महानगरपालिकाबाट दिँदै आएको सुविधा कटौती गरिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र २३ वटा सार्वजनिक शौचालय रहेका छन् । महानगरपालिकाले सञ्चालनमा ल्याएका दुई वटा घुम्ती शौचालय सेवा बन्द भएपछि बटुवाले सास्ती भोग्दै आइरहेका छन् ।

पाँच वटा वडा किन दिसामुक्त क्षेत्र घोषणा नभएको भनी जिज्ञासा राख्दा महानगरपालिकाका प्रमुख विजय सरावगीले ती वडामा धमाधम शौचालय निर्माण भइरहेकाले ती वडा निकट भविष्यमा दिसामुक्त क्षेत्र घोषणा गरिने बताए ।

नगरक्षेत्रभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भारतलगायत अन्य ठाउँबाट आउने मानिसलाई दिसापिसाब गर्न सकस हुने गरेको गुनासो सुनिन थालेको छ । रासस



प्रतिक्रिया दिनुहोस्