Logo

पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी विमानस्थलबाटै गिरफ्तार



मेलेसिया, ३० असार । स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ । अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी एनएबीका अधिकारीहरूले हिरासतमा लिएका हुन्।

बीबीसी संवाददाता ताहिर इमरानका अनुसार शरिफले कार चढेर जान अस्वीकार गरेका थिए । त्यसपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्‍याइएको थियो ।

आदेश

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए । बीबीसी संवाददाता फरहत जावेदका अनुसार शरिफलाई अहिले अडियाला जेलमै राखिने छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने छ।

मरियमका लागि त्यहीँ बस्ने व्यवस्था गरिने अधिकारीहरूले बताएका छन् । लहोरमा शरीफका समर्थक र सुरक्षाकर्मीबीच झडप भएका विवरण प्राप्त भएका छन्।

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि बीबीसीसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाए । सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दावी समेत गरे।

मुख्य घटनाक्रम

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा थिए ।

शुक्रवार राति उनी स्वदेश फर्केका हुन् । शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपील गरेको थियो । विमानस्थल पुगेका कैयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ । बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्