काठमाडौं ३१ असार । चितवन भरतपुरकी १८ वर्षीया अनुजा घिमिरे दाइ अनुजसँग कलंकीस्थित ठूलो बुबाको घर जाँदै थिइन् । चितवनमै १२ कक्षाको परीक्षा दिएकी उनी केही समयअघि उच्च शिक्षा पढ्ने अभिलासासहित काठमाडौं आएकी हुन् । तर उनको उच्चशिक्षा पढ्ने अभिलासा त्यतिखेर चकनाचुर भयो, जब उनी सवार मोटरसाइकल दुर्घटनामा पर्यो । दाइ अनुजले चलाएको मोटरसाइकललाई सोल्टीमोडमा टिपरले ठक्कर दिँदा उनको निधन भयो ।
कुपन्डोलमा डेरा गरी बस्दै आएकी अनुजा एसएसपी विनोद शर्मा घिमिरेकी भतिजी हुन् । एसएसपी विनोदसँगको भेटमा अनुजाले आफू काठमाडौंमा पढ्ने बताएकी थिइन् । शनिबार कलंकीमा ठूलो बुबा दिवाकर घिमिरेले दाजुबहिनीलाई खाना खान निम्त्याएका थिए । सोहीअनुसार बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा कलंकी पुग्नै लाग्दा टिपरले उनीहरूलाई ठक्कर दिएको हो । टिपरले पछाडिबाट ठक्कर दिएको अनुजको भनाइ छ । मोटरसाइकलको पछाडि बसेकी अनुजालाई टिपरले ठक्कर दिँदाबित्तिकै उनी भुइँमा पछारिइन् । त्यसमाथि चालकले अनुजामाथि नै टिपर कुदाएपछि उनमा ढुकढुकी मात्रै बाँकी थियो । तत्काल उनलाई बल्खुस्थित वयोधा हस्पिटल त पुर्याइयो । तर उनलाई चिकित्सकले बचाउन सकेनन् ।
आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेर बहिनीको ज्यान गएपछि अनुज विक्षिप्त अवस्थामा छन् । घटनालगत्तै एसएसपी विनोद पनि महानगरीय प्रहरी वृत्त कालिमाटी र वयोधा हस्पिटल पुगेका थिए । मोटरसाइकलाई ठक्कर दिएर बहिनी भुँइमा पछारिएपछि पुनः टिपर चालकले ठक्कर दिएकोबारे अनुजले बताएको एसएसपी विनोदको भनाइ छ । ‘पढाइमा अब्बल अनुजाले उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा राम्रो कलेज खोज्दै थिइन्’, उनले भने, ‘यस्तो दुर्घटना आइलाग्यो, टिपर आतंक कहिले रोकिएला ? ’
सरकारले उपत्यकामा दिउँसोको समयमा टिपर गुडाउन नदिने निर्णय गरेको चार दिन नबित्दै यो अर्काे घटना भएको हो । सरकार आफैंले गरेको निर्णय कार्यान्वयन फितलो हुँदा अनुजाले मृत्युवरण गर्नुपरेको हो । यता महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले भने शनिबार भएकाले टिपरलाई निर्माण सामग्री बोक्न छुट दिइएको जानकारी दिए । प्रहरीले ठक्कर दिने ना ७ ख ९४७५ नम्बरको टिपर र चालक राजकुमार तामाङलाई नियन्त्रणलाई लिएको छ । टिपर चापागाउँबाट धादिङ नौबीसेस्थित सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर जाँदै थियो ।
जेठमा मात्रै टिपरको ठक्करबाट काठमाडौं र भक्तपुरमा गरी चार जनाको मृत्यु भइसकेको छ । यसअघि गत जेठ ३० गते जडिबुटीनजिकै ना ४ ख ३५८८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रौतहट घर भई काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भएको थियो । जेठ नौ गते भक्तपुर नलिन चोकमा बा ३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लोकन्थलीका हरिभक्त कटवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको मृत्यु भएको थियो । २०७४ साउनदेखि जेठसम्ममा मात्रै उपत्यकामा टिपरको ठक्करबाट ३९ जनाले ज्यान गुमाइसकेको महाशाखाले जानकारी दिएको छ । अन्नपूर्णपोष्टबाट