काठमाडौं १ साउन । ‘बिहानीले दिनको संकेत गर्छ।’ पहिलो पटक उपाधि हात पार्दै विश्वकप विजेताहरूको क्लबमा आफ्नो नाम दर्ता गराउने अभियानसहित रुस यात्रामा निस्किएको क्रोएसियाका लागि यो उखान सत्य सावित हुन सकेन। २१औं विश्वकपमा समूहगत चरणदेखि नै एकपछि अर्को उत्कृष्ट खेल पस्किएको क्रोएसिया अन्ततः राम्रो खेल्दाखेल्दै फाइनलमा बलियो फ्रान्ससँग ४—२ गोलले जिल्लिन पुग्यो।
सन् १९९८ को विजेता फ्रान्सविरुद्घको फाइनलमा समेत लोभलाग्दो सुरुआत गरेको क्रोएसिया आइतबार राति रुसको लुझनिकी रंगशालामा सायद भाग्यबाट पनि ठगियो। त्यसैले त, गोल बचाउने प्रयासमा आफ्ना अनुभवी खेलाडी मारियो मान्जुकिचको टाउकोमा ठोक्किएर बल आफ्नै पोस्टभित्र छिर्न पुग्यो। त्यसपछि इभान पेरिसिचको गोलबाट पुनः खेलमा फर्किएको क्रोएसिया अर्को पटक पनि आफ्नै खेलाडीका कारण अप्ठ्यारोमा पर्यो। दुर्भाग्यवस फ्रान्सलाई गोल गर्नबाट रोक्ने क्रममा डीबक्सभित्र पेरिसिचको ह्यान्ड भएपछि विपक्षीले पेनाल्टी प्रहारको अवसर पायो। त्यसपछि फ्रान्सका एन्टोइन ग्रिजम्यानजस्ता अनुभवी खेलाडीले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग नगर्ने कुरै भएन।
‘सायद भाग्यले ठग्नु भनेको यही हो’, टोलीको हारपछि आँसु थाम्न नसकेका एक क्रोएसियाली समर्थक एलेकजेन्डर टोडोरोभिच भन्छन्, ‘वास्तबमै आज हामी निकै दुःखी छौं। तर, हामीले उत्कृष्ट खेल पस्कियौं अनि फ्रान्सजस्तो बलियो प्रतिद्वन्द्वीलाई अन्तिम समयसम्म गतिलो चुनौति पनि दियौं त्यसैले हामी आफ्ना खेलाडीको प्रदर्शनप्रति गौरवान्वित छौं।’ टोडोरोभिच मात्र होइन, यतिबेला करिब ४० लाख जनसंख्या भएको क्रोएसियाका अधिकांश नागरिक पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेर पनि रित्तो हात घर फर्कनु पर्दा निराश छन्।
विश्व फुटबलका एकसे एक धुरन्धरको अनुमान विपरीत क्रोएसिया एक खेल पनि नहारी विश्वकपको फाइनलसम्म पुगेको थियो। समूहगत चरणकै खेलमा पनि क्रोएसियाले तीनवटै खेलमा जित हात पारेको थियो। जबकि, फ्रान्स समूहगत चरणको आफ्नो अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले पनि विश्वकप सुरु हुनुअघि धेरैको रोजाइमा नपरेको क्रोएसियाले फाइनलको यात्रा तय गर्दासम्म विश्वभर लाखौं समर्थक कमाइसकेको थियो।
फाइनलमा फ्रान्ससँग पराजित भएपछि समर्थक मात्र होइन, क्रोएसियन खेलाडीले समेत आँसु थाम्न सकेनन्। लुकाउन खोज्दाखोज्दै पनि धेरै खेलाडीको आँखा आँसुले भरिन पुग्यो। धन्य, खेल अवधिभर सामान्य रहेको मौसममा खेल सकिनासाथ एकाएक परिवर्तन आयो र पुरस्कार वितरण समारोहसम्म नै लगातार वर्षा भइरह्यो। त्यही अप्रत्याशित वर्षाका कारण केही क्रोएसियन खेलाडीले आफ्नो आँसु लुकाउने मौका पाए।
खेलाडीको त्यो आँसु २१औं संस्करणमा उपाधिबाट चुकेकोले मात्र निस्किएको थिएन। केही खेलाडीको मन चार वर्षपछि कतारमा आयोजना हुने २२औं संस्करणमा आफ्नो सहभागिताको अनिश्चिततालाई लिएर पनि भक्कानिएको थियो। सन् १९९८ को विश्वकपको सेमिफाइनमा पुगेको क्रोएसियाले विश्व फुटबलको महाकुम्भमा फेरि त्यही इतिहास दोहोर्याउन २० वर्षसम्म कठोर संघर्ष गर्नु परेको थियो। सन् १९९८ को सेमिफाइनलमा पनि क्रोएसियासामु फ्रान्स नै तगारो बनेको थियो। त्यतिबेला फ्रान्सले क्रोएसियालाई २—१ गोलले हराएको थियो।
अबको चार वर्षपछि सन् २०२२ मा आयोजना हुने विश्वकपमा क्रोएसियाको सहभागिता अन्योलमा छ। किनभने अहिले मैदानमा सक्रिय केही अनुभवी र प्रभावशाली खेलाडीको राष्ट्रिय टोलीमा निरन्तरतासँग पनि यो प्रश्न गम्भीर रूपमा गाँसिएको छ। रुस विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका अनुभवी गोलरक्षक ड्यानियल सुबासिच कतार विश्वकप सुरु हुँदा ३८ वर्ष पुग्नेछन्।
रुस विश्वकपको फाइनलसम्म पुग्दा क्रोएसियाले प्रिक्वार्टरफाइनलमा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रुसलाई पेनाल्टी सुटआउटमा हराएको थियो। सेमिफाइनलमै पनि इङ्ल्यान्डलाई हराउन क्रोएसियाले अतिरिक्त समयसम्म संघर्ष गर्नु परेको थियो। यी तीनवटै खेलमा क्रोएसियाका लागि गोलरक्षक सुबासिचले निकै लोभलाग्दो प्रदर्शन गरेका थिए। त्यसैले पनि उमेरका कारण कतार विश्वकपसम्म उनको निरन्तरता यतिबेला क्रोएसियाका लागि चिन्ताको विषय बनेको छ।
यसैगरी वर्तमान टोलीका अर्का महत्वपूर्ण सदस्य लुका मोड्रिच पनि कतार विश्वकप सुरु हुँदा ३८ वर्ष पुग्नेछन्। रुस विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ अवार्डसमेत जितेका मोड्रिचको निरन्तरता पनि क्रोएसियालाई पिरोल्ने अर्को विषय हो। ढल्कँदो उमेरका कारण उनले अर्को विश्वकप खेल्ने वा नखेल्ने अन्योलमै छ।
यसका अतिरिक्त कतार विश्वकप सुरु हुँदासम्म अर्का अनुभवी मिडफिल्डर इभान राकिटिच ३४ र मारियो मान्जुकिच ३६ वर्ष पुग्नेछन्। क्रोएसियन टोली यिनै होनहार खेलाडीको उत्कृष्ट प्रदर्शनमा टेक्दै रुस विश्वकपको फाइनलसम्म पुगे पनि भविष्यमा उनीहरूको निरन्तरताको विषय यतिबेला आम क्रोएसियन फुटबलप्रेमीका लागि चिन्ताको विषय बन्नु स्वाभाविकै हो। यी खेलाडी आफंै पनि ढल्कँदो उमेरका कारण अन्योलमा देखिन्छन्। त्यसैले होला, आइतबार राति ‘गोल्डेन बल’ पुरस्कार लिएर फर्कंदा पनि मोड्रिचले आफ्नो आँसु थाम्न सकेनन्। उनी भक्कानिएपछि क्रोएसियन राष्ट्र प्रमुख कोलिन्डा ग्राबर कितारोभिच आफैं अघि सरेर मोड्रिचलाई सान्त्वना दिनु परेको थियो। अन्नपूर्णपोष्टबाट