काठमाडौं १ साउन । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।
तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने ।
उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।
‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ ।
अपांगता भएका बालकका अभिभावक बने पर्यटनमन्त्री, तर फर्केर सोधेनन्, बालक घरमै
रारा महोत्सवमा भाग लिन गएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले रारा–६ कोटिल्लाका पाँच वर्षीय बालक पुन्नबहादुर कुलालको अभिभावकत्व ग्रहण गरेका थिए । राम्रोसँग हिँड्डुल गर्न नसक्ने र कान नसुन्ने भएकोले पुन्नबहादुरलाई अभिभावकले विद्यालय पठाउन सकेका थिएनन् । तर, प्रधानमन्त्री र मन्त्रीको टोली आएकाले अपांगता भएका विद्यार्थीलाई पनि पढ्ने वातावरण हुन्छ भनेर आशावादी अभिभावक महोत्सवमा आएका थिए ।
अभिभावकको आशालाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले पुन्नबहादुरलाई स्थानीय दुधे निमाविमा भर्ना गराए । तर, विद्यार्थी अर्को दिन विद्यालय पुग्दा त्यस्ता विद्यार्थीलाई पढाउने कुनै पूर्वाधार नभएको भन्दै फर्काइयो । लगत्तै, उनलाई सदरमुकाम गमगढीको महाकाली माविमा भर्ना गरियो । तर, त्यहाँ पनि उनलाई पढ्ने वातावरण छैन ।
‘मन्त्रीको नामसमेत जोडिएकाले विद्यार्थीलाई भर्ना गरिएको छ, तर उनलाई पढाउने पूर्वाधार हामीसँग छैन, त्यसैले उनी विद्यालय आएका छैनन्,’ प्रधानाध्यापक दानबहादुर मल्लले नयाँ पत्रिकासँग भने । तर, आफूले भर्ना गरेको विद्यार्थी विद्यालय जान सकेको छैन र उसको पढाइ कस्तो छ भनेर मन्त्रीले समेत चासो नराखेको गुनासो अभिभावकले गरेका छन् । ‘मन्त्रीज्यूले मेरो छोरालाई भर्ना गरेर जानुभयो, त्यसपछि कहीँकतैबाट केही सोधखोज भएको छैन,’ पुन्नबहादुरका बुबा खड्ग कुलालले भने ।
मुख्यमन्त्रीले बिर्सिए आफैँले भर्ना गरेको विद्यार्थी
प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । तर, अहिले उनी तीन बालबालिकाको मात्रै अभिभावकत्व लिएको दाबी गर्छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका–५ परती टोलकी पाँच वर्षीया राधिका दासलाई मुख्यमन्त्री राउतले बिर्सिएका छन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुगुका ५ वर्षीय सरोज नेपालीको अभिभावकत्व ग्रहण गर्दै भारेकोटस्थित नेपाल राष्ट्रिय निमावि कक्षा १ मा भर्ना गरेका थिए । त्यसपछि चासो नै छोडे । सरोजले मुख्यमन्त्रीबाट कापी–कलमदेखि ड्रेससम्मका कुनै सहयोग नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर मल्लले बताए ।
सांसद् तथा पूर्वमन्त्री शरत्सिंह भण्डारीले महोत्तरीको औरही नगरपालिका–१ मुसहर बस्तीका सात वर्षीय अमितकुमार माझीको अभिभावकत्व लिएको घोषणा गरे । तर, उनले अहिलेसम्म अमितलाई एउटा कापी र पेन्सिलसमेत सहयोग गरेका छैनन् । ‘नेताज्यू मेरो बच्चाको अभिभावक बनेको थाहा पाएँ, तर कापी–कलमलगायतका सामग्री र अरु सहयोग केही पनि पाइएन, आफैँ मजदुरी गरेर पढाइरहेकी छु,’ अमितकी आमा इन्दू सदाले भनिन् ।
रक्षामन्त्री ईश्वर पोखरेलले मुगुकै नेपाल राष्ट्रिय मावि मुर्मामा दुई विद्यार्थीलाई भर्ना गरे । सूर्यदेवी रोकाया र पुस्कर रोकायालाई रारा पर्यटकीय वर्षकै तामझामबीच भर्ना गराए पनि त्यसपछि पोखरेलले कुनै वास्ता गरेका छैनन् । राराको कार्यक्रममार्फत मुगुमा प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशमन्त्रीलगायत विभिन्न व्यक्तिले १५ जना विद्यार्थीलाई भर्ना गरे पनि त्यहाँबाट फर्किएपछि मतलब गरेका छैनन् ।
मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिका–१७ गोरक्षरत्ननाथ माविमा ५ विद्यार्थीको अभिभावकत्व ग्रहण गरे । उनले भर्ना गरिदिएका शिवु चौधरी र आशिका चौधरी अंग्रेजी माध्यमतर्फ कक्षा १ मा पढ्दै छन् । कल्पना योगी, कमल बुढा र राजन शर्मा कक्षा ४ मा अध्यनरत छन् । सबै विद्यार्थीको हेरचाहको जिम्मा स्थानीय हुमा डिसीलाई दिइएको छ ।
मासिक शुल्क पनि तिर्ने जिम्मेवारी लिएका पोखरेलले परीक्षा शुल्क भने व्यहोरेका छैनन् । परीक्षा शुल्क र परिचयपत्रका लागि घरबाटै पैसा ल्याएर तिर्ने गरेको विद्यार्थीहरूले बताए । वर्षमा तीनपटक परीक्षा हुन्छ । कक्षा ४ मा अध्ययनरत कल्पना योगीका अनुसार विद्यालय भर्ना गर्दा पोसाक, दुईजोर सेतो र कालो जुत्ता, एकजोडी ट्रयाकसुट, झोला, टाई, बेल्ट, एकदर्जन कापी र कलम दिइएको थियो ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बुटवल उपमहानगरपालिका–११ स्थित नहरपुर माविमा लक्ष्मी परियार र आशा परियारलाई भर्ना गराएका थिए । क्षमी २ र आशा ३ कक्षामा पढ्छन् । त्यतिखेर आवश्यक शैक्षिक सामग्री पनि किनिदिएका थिए । अहिले पनि मन्त्री गिरीले आफ्ना विद्यार्थीको चासो राख्ने गरेको प्रधानाध्यापक धनिश्वर गौतम बताउँछन् । गिरीसँगै सोही विद्यालयमा विद्या थापाको अभिभावकत्व लिएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि निरन्तर पढाइ र आवश्यकताबारे चासो राख्दै आएका छन् । उनीहरूले भर्नापछि दुईपटक फोन गरेर चासो लिएको सुवेदीले बताए । अब मन्त्री र मेयरसँग विद्यार्थीका अभिभावकको भेट गराउने उनले सुनाए ।
नयाँपत्रिकाबाट