Logo

१६ लाखको स्वास्थ्य सामग्री प्रदान



बागलुङ, २ साउन । धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । इटालीको गैरसरकारी संस्था एएनटीको आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र एमटिटीएसको सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो ।

प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

चिकित्सक राजभण्डारीले बिरामीलाई गुणस्तरीय सेवा दिन नयाँ उपकरण र सामग्रीले सघाउ पुग्ने धारणा राख्नुभयो । “स्तरीय र नयाँ प्रविधियुक्त सामग्री अस्पतालले पाएको छ,” उहाँले भन्नुभयो, “हामी यसको सही सदुपयोग र संरक्षण गर्छौं ।” उहाँले उपकरण भएर पनि समुचित प्रयोग नहुने अवस्था कतिपय स्वास्थ्य संस्थामा रहेको भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनुभयो ।

नगर प्रमख पौडेलले विदेशी संस्थासँगको सहकार्यमा लायन्स क्लबले अस्पतालमा सहयोग भित्र्याएकोमा प्रशंसा गर्नुभयो । “अस्पताललाई लाखौँ मूल्य पर्ने सामग्री निःशुल्क उपलब्ध भएको छ,” उहाँले भन्नुभयो, “यसका निमित्त सक्रिया देखाउनुहुने सबैको भूमिका सराहनीय छ ।”

उहाँले दाताले दिएको सहयोगको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ बागलुङले मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्