Logo

परम्परागत खेती छाडेर कृषक जडीबुटीखेतीमा आकर्षित



सल्यान, २ साउन । जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।

कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।

जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनमा लागेका छन् । छत्रेश्वरी गाउँपालिका– २ स्थित रुपान्तरण जडीबुटी कृषक समूह र लालीगुराँस जडीबुटी कृषक समूह बनाएरै कृषकले जडीबुटी उत्पादन शुरु गरेको छत्रेश्वरी गाउँपालिका– २ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताउन्छन।

“गत आवमा टिमुरको मूल्य उच्च भएकाले यसवर्ष कृषक टिमुर तथा अन्य जडीबुटी खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने। कृषकले एक क्विन्टल टिमुर रु ६० हजारभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।

“परम्परागतरुपमा गरिएको खेतीले गर्जो टार्न गाह्रो भयो, टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि एक बिघाभन्दा बढी जग्गामा टिमुरखेती गरेको छु”, वडाध्यक्ष खड्काले जानकारी गराए । टिमुरखेतीका लागि गाउँपालिकाबाट बजेट विनियोजन गरेको उनि सुनाउन्छन ।

समूहमा टिमुर लगाउने निर्णय गरेर खेती शुरु गरिएको रुपान्तरण जडीबुटी कृषक समूहकी अध्यक्ष कमला केसीले सुनाईन । प्रत्येक सदस्यले वर्षमा डेढदेखि दुई क्विन्टलसम्म टिमुर उत्पादन गर्छन् ।

लालीगुराँस जडीबुटी उत्पादन समूहका ३२ कृषकले जडीबुटी खेतीबाट पर्याप्त आम्दानी गरिरहेको अध्यक्ष हीरालाल वलीले बताए । समूहमा आबद्ध सबैले ५० किलोदेखि २०० किलोसम्म टिमुर उत्पादन गरिरहेका छन् ।

जिल्लामा उत्पादन हुने टिमुर र रोजमेरीलाई प्रशोधन गरी तेल निकाल्न जिल्लामै उद्योग खुलिसकेको छ । झण्डै रु एक करोडको लागतमा श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापना भएको छ । जडीबुटी खरिद बिक्री गर्न जिल्ला वनस्पति कार्यालय र स्थानीय तहको पहलमा उद्योगसँग कृषकको सम्झौता भएको छ ।

पाँचवटा जडीबुटी कृषक समूहलाई जिल्ला वन कार्यालयले टिमुरखेतीका लागि आवश्यक औजार र सामग्री वितरण गरेको सूचना अधिकारी कृष्ण पुनले जनाए । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिरसम्म टिमुर संकलन गरिसक्नुपर्छ । संकलित फललाई घाममा सुकाउनु पर्छ ।

जिल्लाबाट गत आवमा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्ला बाहिर बिक्री गरिएको थियो । टिमुरबाट रु २५ लाख ४६ हजार राजश्व संकलन भएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्