काठमाडौं ३ साउन । अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा विधेयक स्थगन गर्ने प्रस्ताव गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलपछि सरकारले संसद्मा दर्ता भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक स्थगन गर्ने प्रस्ताव गरेको हो ।
तर, केसी पक्षले भने सरकारको प्रस्ताव स्वीकार गरेको छैन । विधेयक स्थगन होइन फिर्ता लिनुपर्ने केसी पक्षको माग छ । माथेमा कार्यदलका प्रतिनिधिले केसीको स्वास्थ्यमा गम्भीर चिन्ता जनाउँदै मध्यमार्गी बाटो खोज्न आग्रह गरेपछि सरकार केसीको जीवन रक्षाका लागि विधेयक स्थगन गर्ने अवस्थामा पुगेको हो ।
प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार संसद्मा दर्ता भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल स्थगन गर्ने र अनशनरत डा. केसीलाई काठमाडौं ल्याउने विषयमा सरकार सकारात्मक भएको हो । नाम उल्लेख नगर्ने सर्तमा प्रधानमन्त्रीका एक सल्लाहकारले भने, ‘बुधबार माथेमा कार्यदलका केही साथीहरूले हामीलाई म्यासेज गर्नुभयो । सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता लियोस्, केसीलाई हामी काठमाडौं ल्याउँछौँ भन्नुभयो ।’ प्रा.डा. केदारभक्त माथेमा र डा. अर्जुन कार्कीलगायतले बढी चासो देखाएको स्रोतले बतायो ।
विधेयक स्थगन नै मिलनबिन्दु
सरकारलाई बीचको बाटो अपनाउन माथेमालगायतको टिमले आग्रह गरेपछि सरकारले विधेयक स्थगनलाई नै मिलनबिन्दुको आधार बनाएको हो । विधेयक स्थगन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाएर छलफल गरेको स्रोतको भनाइ छ । विधेयक फिर्ता नलिने, तर स्थगन गरेर अगाडि बढ्न सकिने बताएपछि दुवै पक्ष सहमतउन्मुख भएका छन् । स्रोतका अनुसार विधेयक स्थगन गर्ने र केसीलाई काठमाडौं ल्याउनेबारे अन्तिम निर्णय भने भइसकेको छैन ।
माथेमा कार्यदलका प्रतिनिधिहरूले विधेयक स्थगनलाई पनि अस्वीकार गरे निकासको बाटो नरहने बताएका छन् । यो अवस्थामा उनले भात खानुपर्ने उनीहरूको भनाइ छ । नयाँपत्रिकाबाट