Logo

सामुदायिक र निजी उत्कृष्ट वन समूह पुरस्कृत



त्रिशूली, नुवाकोट, ३ साउन । जिल्ला वन कार्यालयले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ ।कार्यालयले आज विदुरमा कार्यक्रम गरी चारवटा सामुदायिक वन र तीन जना निजी वन सञ्चालकलाई नगदसहित पुरस्कृत गरेको हो ।

सामुदायिकतर्फ विदुर नपा–८ माझीगाउँको माझीगाउँ सामुदायिक वन उपभोक्ता समूह पहिलो, विदुर नपा–११ को कालिकास्थान महिला वन उपभोक्ता समूह दोस्रो, किस्पाङ गाउँपालिका–४ को कन्यास्थान सामुदायिक वन समूहलाई तेस्रो र शिवपुरी गाउँपालिका–४ को गंगादेवी सामुदायिक वनलाई सान्त्वना पुरस्कार प्रदान गरेको छ ।

पहिलो हुनेलाई रु आठ हजार, दोस्रोलाई रु छ हजार, तेस्रोलाई रु चार हजार र सान्त्वनालाई रु दुई हजार नगदसहित पुरस्कृत गरेको हो ।यस्तै निजी वनतर्फ किस्पाङ गाउँपालिका–१ का घलेलाई रु पाँच हजारसहित पहिलो, पञ्चकन्या गाउँपालिका–५ का रघुवीर तामाङलाई रु पाँच हजारसहित दोस्रो र म्यागङ गाउँपालिका–४ का वाङदोर्जे तामाङलाई रु तीन हजारसहित तेस्रो पुरस्कार प्रदान गरिएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी गराएका छन।

जिल्लामा वनको संरक्षण, व्यवस्थापनको कामको मूल्यांकन गरी उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिएको प्रमुख नेपालले बताए।जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पुरस्कार वितरण पछि जिल्लामा वन संरक्षणको काम चुनौतीपूर्ण रहेकाले यसरी राम्रो काम गर्नेलाई पुरस्कृत गर्दा वन संरक्षणमा सहयोग पुग्ने बताएका हुन ।

जिल्लामा ३५० सामुदायिक, १८ निजी र तीनवटा धार्मिक वन रहेका छन । रासस



प्रतिक्रिया दिनुहोस्