Logo

डा केसीसँगको वार्ता कहिले ?



काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।उनिसँग थप वार्ताबारे छलफल भएपनि अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन ।

यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन ।सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।

डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले विहीबार बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी गराएका छन ।रासस



प्रतिक्रिया दिनुहोस्