Logo

५२ आनामा अड्किएको मूलपानी क्रिकेट मैदान !



काठमाडौं, ४ साउन । अन्तर्राष्ट्रिय मूलपानी क्रिकेट मैदानको निमार्ण कार्य ठूला समस्याहरु भन्दा पनि साना साना समस्यमा थला पर्ने गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् राखेपको स्वामित्वमा रहेको मूलपानी क्रिकेट मैदानको गुरुयोजना आईसीसीका प्रतिनिधिले तयार पारेका थिए ।

मैदानसँगै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हल लगायतका विभिन्न भौतिक संरचना निर्माण हुनेछ । सरकारले करिब ५ वर्षको समयमवधिमा सम्पन्न गर्ने गरी मास्टर प्लान बनाएको थियो । यो प्लान बनाएको तीन वर्ष पूरा भइसकेको छ ।

मैदान निर्माणको ४ वर्ष बितिसक्दा सामान्य मैदान बनाउने र ३ वटा प्याराफिट बनाउने कामबाहेक अन्य कुनै काम भएको छैन । योजनाअनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गर्नका लागि करिब ८० करोड लाग्ने अनुमान गरिएको थियो ।

सरकारले प्रत्येक वर्ष मूलपानी क्रिकेट रंगशाला निर्माण गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । यो आर्थिक बर्षमा पनि सरकारले मूलपानीलाई मुख्य प्राथमिकतामा राखेको छ । पहिलो चरणको ठेक्काको काम समाप्त भए पनि निर्माण कार्य सुरु भएदेखि ५२ आना जग्गा विवादले अहिलेसम्म पनि समाधान भएको छैन ।

सुरुवाती दिनहरूमा जग्गाको मुआब्जा दिने भनिए पनि जग्गाधनीसँग कुरा नमिलेपछि करिब ५ वर्षपछि बल्ल जग्गाको बदला जग्गा नै दिने तयारीमा सरकार पुगेको छ । तर यो फाइनल मन्त्रिपरिषद्बाट पारित हुनु पर्ने हुन्छ ।

५२ आना जग्गाको विवाद समाधान गर्नका लागि मूल्य निर्धारण समन्वय समिति पनि बनेको थियो । जसअनुसार राष्ट्रिय खेलकुद परिषद्ले ५२ आना जग्गाधनीलाई ५ लाख ५० हजारका दरले प्रतिआना दिने निर्णय गरेको थियो ।

तर जग्गावालाले नमानेपछि जग्गाको बदला जग्गा नै दिने सहमति भएको छ । करिब २० हजार क्षमताको दर्शक अट्ने सुविधासम्पन्न मुलपानि रंगशाला बन्नेछ तर समय भने अवश्य लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्