Logo

‘डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र वार्ता हुन्छ’



काठमाडौं ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन्। २३ दिनदेखि अनसनरत केसी निशर्त वार्ता गर्न तयार भए सरकारले जुनसुकै बेला वार्ता गर्ने उनको भनाइ छ। यद्यपी डा. केसीसँग वार्ताअघि उनी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुपर्ने अडान प्रधानमन्त्री ओलीको रहेको खुलासा अर्यालले गरेका छन्।

प्रधानमन्त्री ओलीले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सल्लाहकार अर्यालले सरकारसँगको वार्ताका लागि केसीले निशर्त स्वतन्त्र निर्णय लिन सक्नुपर्ने उडान प्रधानमन्त्रीको रहेको खुलासा गरेका हुन्।

‘प्रमले घटनाक्रमलाई नजिकबाट नियाली रहनु भएको छ। डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नु भएको खण्डमा मात्र निशर्त वार्ता गर्न तत्पर हुनु हुनेछ’, डा. अर्यालले भने, ‘उहाँ निशर्त रुपमा वार्ता गर्न तयार हुनु भयो भने सरकारका तर्फबाट जुनसुकै बेला औपचारिक वार्ता सुरु हुन सक्छ।’

प्रधानमन्त्री ओली सार्वभौम संसद बाहिरबाट चिकित्सा शिक्षा विधेयकमा थोपरिने कुनै पनि शर्त मान्न तयार नभएको अर्यालले प्रष्ट पारेका छन्। ‘सार्वभौम संसदभन्दा बाहिरबाट चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि शर्त मान्य र ग्राह्य नहुने कुरामा प्रम अडिग हुनुहुन्छ’, अर्यालले आइतबार साँझ ट्विटरमा लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्