मोहन तामाङः सङ्खुवासभा, ८ साउन । सदरमुकाम खाँदबारी नगरपालिकामा ९ वटा बैंक छ । यता चैनपुर नगरपालिकामा ५ वटा बैंक स्थापना भईसकेका छन् । पाँचखपन नगरपालिकामा एक महिना अघि नेपाल बंगलादेश बैंकले शाखा सञ्चालन गरिसकेको छ भने धर्मदेवी नगरपालिकामा पनि एसविआई बैंकले कारोबार गरिरहेको छ । त्यस्तै, मकालु गाउँपालिकामा पनि सिद्धार्थ बैंकले शाखा सञ्चालन गरिसकेको छ ।
तर जिल्लाको दश स्थानीय तह मध्ये सुगमका पाँच स्थानीय तहमा विभिन्न बैंकको शाखाले काम गरिरहेको भएपनि दुर्गमका तहहरुमा अझै बैंक स्थापना भएको छैन । जसका कारण दुर्गमका स्थानीयहरुले आर्थिक कारोबार र योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनु पर्ने स्थिति फेरिएको छैन । यस अघि नेपाल राष्ट्र बैंकले असार मसान्त सम्ममा प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गरिसक्नु पर्ने भनेपनि सङ्खुवासभाका पाँच स्थानीय तहमा अझै बैंकको शाखा खुलेको छ्रैन ।
सङ्खुवासभाको भोटखोला, चिचिला, सिलिचोङ, सभापोखरी गाउँपालिका र मादी नगरपालिकामा बैंक सञ्चालन हुन सकेको छैन । जिल्लाको सवैभन्दा दुर्गम मानिने भोटखोलामा ग्लोबल आईएम्ई बैंकले शाखा सञ्चालन गर्ने भनिए पनि अझै बैंक सञ्चालनको तयारी समेत भएको छैन । बैंक सञ्चालनको लागि पक्की भवन आवश्यक पर्ने भएकोले आवश्यकता अनुसारको भवन नपाउँदा बैंक सञ्चालन गर्न ढिलो भएको उनीहरु बताउँछन् ।
त्यस्तै, चिचिला गाउँपालिकामा केही समयदेखि यता बैंक सञ्चालनको लागि तयारी गरिए पनि अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंकको लागि दुई महिना अघि नै भवन उपलब्ध गराईएको भएपनि अहिलेसम्म बैंकको शाखा सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । बैंक सञ्चालन गर्नको लागि केही सामाग्रीहरु आईनसकेकोले अहिलेसम्म बैंकको शाखा सञ्चालन गर्न नसकेको बैंकका प्रतिनिधिहरुले बताउने गरेको शेर्पाले बताए ।
यस्तै सिलिचोङ गाउँपालिकामा पनि बैंक खुल्न सकेको छैन । सिलिचोङमा पक्की भवन प्राप्त भएपनि बैंक राख्ने संरचना भइ नसकेकोले असार मसान्त भित्र शाखा सञ्चालन गर्न नसकिएको बताईएको छ । आवश्यक सामग्री ढुवानी गर्न यातायातको पनि समस्या रहेकाले शाखा सञ्चालनमा ढिलो हुन गएको बैंकका अधिकारीहरुले बताउने गरेको गाउँपालिका प्रमुख रामबहादुर कुलुङले बताए ।
उता सभापोखरी गाउँपालिकामा प्राईम बैंकले शाखा स्थापना गर्ने भनिए पनि भल्ट (पैसा राख्ने दराज) आई नपुगेको भन्दै शाखा सञ्चालन गर्न सकिएको छैन । बैंकको अन्य तयारी सकिएको र उक्त भल्ट आईपुगेलगत्तै शाखाबाट कारोवार सुरु गरिने बताईएको छ । मादि नगरपालिकामा पनि हिमालयन बैंकको शाखा सञ्चालनको लागि प्राप्त भएको भवनमा संरचना तयार भईरहेको मेयर विदुर लिङ्थेपले बताए । शाखा सञ्चालन गरिएकाहरुमा ईन्टरनेटको समस्या रहेको बैंकहरुले जनाएको छ । ईन्टरनेट अवरुद्ध हुँदा सेवा प्रबाहमा समेत समस्या भएको छ ।