Logo

पाकिस्तानः निर्वाचनको दिन विस्फोट,२५ को मृत्यु



काठमाडौं, ९ साउन । पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै दिन क्वेटामा एउटा विस्फोट गराइँदा कम्तीमा २५ जनाको ज्यान गएको छ। मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्।

देशका अरू भागमा राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन्। चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएल-एनलाई टक्कर दिने ठानिएको छ।

आरोप

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका शरिफ केही हप्ताअघि जेल चलान गरिएका थिए । चुनावी अभियान हिंसा र सैन्य हस्तक्षेपको आरोपबाट प्रभावित भएको थियो।

खानका विरोधीहरूका अनुसार शक्तिशाली मानिने पाकिस्तानको सेनाले उनलाई सत्तामा ल्याउने योजना बनाएको छ। तर खान र सेना दुवैले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख नागरिकहरू मतदाताका रूपमा सूचीकृत भएका छन्।

मतदाताले राष्ट्रिय विधायिका न्याश्नल एसेम्बलीका २७२ सदस्यलाई प्रत्यक्ष रूपमा छान्नेछन्। तीमध्ये ७० स्थान महिला तथा अल्पसङ्ख्यकहरूका लागि आरक्षित छ। बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्