Logo

युवायुवतीहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु दुःखद : कडरिया



काठमाडौं, ९ साउन । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा, युवतीहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु दुःखद् कुरा भएको बताएका छन् ।

काठमाडौंको अनामनगरस्थित्  एसियन पब्लिक स्कूल अनामनगरमा सञ्चालित अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले विशेष गरेर युवा युवतीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको कुरा बताएका हुन् ।

उनले युवा युवतीहरुलाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि अभिभावक सचेत हुनुपर्ने स्पष्ट पारेका छन् । परिवार तथा समाजको उपयुक्त रेखदेखको अभावले गर्दा युवायुवतीहरु किशोर अवस्थामै सुर्तीजन्य पदार्थबाट प्रभावित भएको उनको भनाई छ ।

सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंक लि. को सहकार्यमा संचालित उक्त कार्यक्रम विर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाएको बताए ।

डा. पौडेलले जनचेतनाको कारण फ्रान्समा १ वर्षमा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको कुरा बताए । उनका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थका कारण २०–२५ हजार मानिसले अकालमा ज्यान गुमाएको तीतो यथार्थ व्यक्त गरे ।

उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरसम्म जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

माछापुच्छ्रे बैंक लिमिटेडका सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि बैंकको तर्फबाट क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै राष्ट्रव्यापी रुपमा अभियान संचालन गर्ने बताईन् ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक गगनसिंह ऐरले क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी गराएकोमा धन्यबाद दिए । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावक गरी उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्