काठमाडौं, १० साउन । फ्रान्सका बेन्जामिन पाभार्डको गोल विश्वकपको गोल सर्वोत्कृष्ट गोल घोषित भएको छ । फुटबल फ्यानहरुले उनको गोललाई ३० लाख भोट दिएका छन् । डिफेन्डर पाभार्डले खेलको ५७ औं मिनेटमा अर्जेन्टिनाविरुद्ध पोस्टको माथिल्लो भागमा उत्कष्ट गोल गरेका थिए ।
अर्जेन्टिनासँग २–१ ले पछि परेको अवस्थामा उनको बराबरी गोललाई फिफाको वेवसाइटमा ३० लाखको भोट आएको थियो । ‘यस बारे मैले सोचेकै थिइन । एक गोलले पछि परेको अवस्थामा टिमका लागि योगदान गर्नेमात्र सोचेको थिए ।’ बराबरी गोल गरेका पाभार्डले भने ।
‘बल मसम्म आइपुग्दा बाउन्स भएको थियो । मैले बललाई जालीको दिशा दिन चाहन्थेँ’ पाभार्डले थपे । जापानविरुद्धको खेलमा कोलम्बियाका हुवान क्वीन्टेरोको फ्रिकिक दोस्रो उत्कृष्ट भयो भने अर्जेन्टिनाविरुद्ध क्रोएसियाका लुका मोड्रिचको गोल तेस्रो उत्कृष्ट गोल बन्यो ।