चितवन, १० साउन । जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३÷०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४÷०७५ मा दुई हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो । आव २०७३÷०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस भेटिएको थियो ।
मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ । घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताएका छन।
उनका अनुसार गत आवमा एक हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो । आव २०७३÷०७४ मा दुई हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण भेटिएको उनी बताउन्छन ।
एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले जानकारी गराए ।
रासस