Logo

कांग्रेसले भन्यो : सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य



काठमाडौँ, ११ साउन / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार १० वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने लगायतकै विषय समेटेर सहमति हुनु स्वागतयोग्य हो भन्नुभयो ।

चिकित्सा शिक्षाका लागि सत्याग्रहका माध्यमबाट निरन्तर दबाब दिँदै आउनुभएका डा केसीको पछिल्लो अनशनलाई अन्तिम अनशन बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै गम्भीर र जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सहमतिको इमान्दार कार्यान्वयन हुने विश्वासका आधारमा संसद्मा हालै प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेकप्रतिको विरोधको सूचना पार्टीले आजै संसद्बाट फिर्ता लिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्