काठमाडौँ, ११ साउन । पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।
हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन हेपाटाइटिस ‘बी’ को संक्रमण बढिरहेको बताउन्छन। “अन्य हेपाटाइटिसभन्दा ‘बी’ बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको छ,” उनले भनेका छन ।
उनले पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘‘बी’ का संक्रमित आउने गरेको र यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोगबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेको बताए ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘बी’ को संक्रमण भेटिएको डा पुनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेका छन् ।
सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा अखिलेशकुमार कश्यपले नेपालमा कूल जनसंख्याको तीन लाख ८० हजार तर्थात् दुई लाख ५० हजार मानिसमा हेपाटाइटिस बी र करीब एक लाख ३० हजार मानिसमा हेपाटाइटिस सी भएको अनुमान गरिएको जानकारी गराएका छन।
उनका अनुसार, “बी र सी हेपाटाइटिसका कारण हरेक वर्ष संसारका १३ लाख मानिसको मृत्यु मृत्यु हुन्छ ।” क्यान्सरबाट मृत्यु १२ जनामध्ये एक जना कलेजोको क्यान्सरबाट मृत्यु हुन्छ । डा कश्यपले एआइभी एड्स, क्षयरोग र मलेरिया नियन्त्रण र उपचारमा लगानी गरे पनि हेपाटाइटिसमा ध्यान नदिएका कारण यसबाट हुने मृत्युदर बढिरहेको जनाए।
हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिसलाई र हेपाटाइटिस सीको संक्रमण भएका ८० प्रतिशत मानिसलाई यसबारे जानकारी नै नभएको डा कश्यपको भनाइ छ । जानकारी नभएको उनीहरुले आफन्त र साथीभाइलाई पनि संक्रमित बनाइरहेको चिकित्सकको भनाइ छ ।
हेपाटाइटिस बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखि ९० प्रतिशत बच्चामा हेपाटाइटिस बी दीर्घरुपको संक्रमणका रुपमा देखिन्छ । जसमध्ये एक चौथाइ युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
संसारमा हेपाटाइटिस बि र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदरभन्दा बढिरहेको डा कश्यप बताउन्छन। कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । हजारभन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भए तापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ । रक्तसञ्चारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने, मेडिकल उपकरण तथा औजारलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ र असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ । रासस