नुवाकोट, १२ साउन । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ ।
कार्यालयले आव २०७४÷७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संकलन गरेको छ । प्रशासनले दु्रत सेवाका लागि चार हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ ।
एक वर्षमा झण्डै नौ हजार जनाले राहदानी बनाएका छन् । जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी गराएका छन ।
जिप्रकाले गत वर्ष आठ हजार ९८५ नागरिकता वितरण गरेको छ । यस्तै चार हजार ९७३प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ । वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ ।
यस्तै ५४ संस्था दर्ता भएको छ भने १२६ वटाको नवीकरण भएको छ । एक सय ६० जनाको नाबालक परिचयपत्र वितरण भएको तथा चार हजार ५५१ वटा सिफारिश भएको छ । यसैबीच गत आवमा बाढी पहिराबाट १२ घरमा क्षति पुगेको तथा एक घरमा आगलागी भएको जिप्रकाले जनाएको छ । पहिरो र आगोले क्षति भएका घरधनीलाई रु एक लाख २६ हजार राहत प्रदान गरिएको थियो । रासस