Logo

आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण –प्रधानमन्त्री



काठमाडौँ, १२ असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताएका छन ।

तत्कालीन नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर अभियान शुरु गरेकाले त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न इन्जिनियरहरुलाई आग्रह गरेका हुन ।

राष्ट्र निर्माणको महाअभियान शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा र मुलुकको चाहनालाई पूरा गर्न प्राविधिक जनशक्तिको अझ बढी योगदानको खाँचो रहेको उल्लेख गरेका थिए ।

राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको भन्दै प्रधानमन्त्रीले गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउने भनेका छन ।

उनले गलत उद्देश्यबाट निर्देशित भएर पैसा देशमा भित्रन नदिइनेसमेत स्पष्ट पारे । ‘गलत उद्देश्यका साथ गलत बाटोबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने ‘नेपाल भित्रिने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताएका थिए । देश अहिले विकासको महाअभियानमा भएकाले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले जनाएका छन । सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ’ प्रधानमन्त्री ओलीको भनाई रहेको थियो ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एशोसिएशन नेपाललाई बधाईसमेत दिएका थिए । एकताबद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजबुत ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे। आधुनिक प्रविधिको प्रयोग गरेर एकाध वर्षभित्रै मुलुकलाई समृद्धिको मार्गमा डोहो¥याउने गरी सरकार दत्तचित्त भएर लागिपरेको उनको भनाइ थियो ।

राजनीतिक विषय सकिएपछि गलत माग राख्न थालियो – अध्यक्ष दाहाल

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताएका छन ।

राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो भन्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन् । गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन ।”

राजनीतिक विषय सकिएपछि अनावश्यक बखेडा झिकिएको र गलत संस्कारको विकास गरिएको भन्दै उनले काम शुरु नहुँदै परिणाम खोज्ने प्रवृत्तिसमेत घातक रहेको स्पष्ट पारेका छन । निर्वाचनबाट पराजित भएपछि नेपाली काँग्रेसले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको स्पष्ट पारेका थिए ।

“शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उनिहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहेका छन। कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ” अध्यक्ष दाहालले भनेका थिए ।

अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताए । उनले विज्ञानमा आधारित विकास र समृद्धिमा नेकपाले जोड दिने स्पष्ट पारेका छन ।

उनले भनेृ, “वैज्ञानिक विचारको बलमा जनताको मन जितेर दुईतिहाईको सरकार बनाएका छौँ र हामी समाजवादका यात्रामा जानेछौँ ।”

उनले विश्वमा स्थापित भएको लोकतान्त्रिक विधिका आधारमा र अन्तर्राष्ट्रिय मान्यताभन्दा पनि नेपाली स्वरुपको समाजवादको यात्रामा नेकपाको सरकार जाने बताएका छन। विकास, निर्माण र समृद्धिका लागि इन्जिनियरहरुले प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष दाहालले सकारात्मक सुझाव दिएर सरकार र पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरेका छन।

उनले बिना विवाद दुई वटा संगठन एकीकरण गर्न सफल भएकामा बधाईसमेत दिएका थिए । दुई पार्टीबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक पेशागत संगठनको रुपमा रहेको इन्जिनियर संगठनको एकता भएको हो ।

तत्कालीन एमाले निकट ‘पोग्रेसिभ इन्जिनियर एसोसिएशन नेपाल’ र तत्कालीन माओवादी केन्द्र निकट ‘नेपाल इन्जिनियर संगठन’बीच एकता भई ‘प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल’ नामक संगठन बनेको छ ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र स्थायी समिति सदस्य पम्फा भुसालगायतको सहभागिता थियो । एकतापछि शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय सचिवालय र ९५ जनाको केन्द्रीय समिति गठन भएको छ । यस्तै महासचिवमा हरि पराजुली चयन भएका छन । रासस



प्रतिक्रिया दिनुहोस्