पोखरा, १३ साउन । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताएका छन।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका हुन।
खेलकूद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकूद आयोजना गर्नका लागिमात्रै नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकूद अपरिहार्य भएको उल्लेख गरेका थिए ।
पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उनले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताए ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद साग लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पारे ।
नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशराज श्रेष्ठले राजनीतिकरुपमा खेलकूदका विषयमा कुनै पनि दलले चासो नदिएको धारणा राख्दै खेलकूद विश्वविद्यालयको आवश्यकतामा जोड दिए।
खेलकूदमा निजी संस्थाको सहभागिता हुनुपर्ने कुरा गर्दै खेलकूद राजनीतिबाट मुक्त राख्नुपर्नेमा उनको जोड थियो । तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा ९४ टिममा १८६ जना खेलाडीको सहभागिता रहेको आयोजक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी गराए ।
प्रतियोगितामा विजेता खेलाडीले क्रमशः २०, १५ र १० हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रासस