Logo

कांग्रेसका पुराना नेता आचार्य रहेनन्



नुवाकोट, १३ साउन । नेपाली कांग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ ।

काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिए ।

विसं २०३३ देखि कांग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई कांग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा कांग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए ।

उनि २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बनेका थिए । उनि विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भए।

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने कांग्रेसका पूर्वसभापति अधिकारीले बताए । “प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदान अतुलनीय छ । नुवाकोटमा उनको योगदानलाई कोहीसँग तुलना नै हुन सक्दैन । उहाँ प्रजातान्त्रिक आन्दोलनका खम्बा हुनुहुन्थ्यो”, अधिकारीले भने, “उहाँले पञ्चायतकालको असहज समयमा पनि जिल्लामा कांग्रेसलाई सशक्त रुपमा हाँक्नुभएको थियो ।’

प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत परेका थिए । विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उनि कारागार परेको पूर्वसभापति अधिकारीले बताए । “उहाँ धेरै पटक जेल पर्नुभयो । पटक पटक गरेर दुई वर्षभन्दा लामो समय जेल पर्नुभयो”, अधिकारीले भने ।

पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी. विचार मञ्चका केन्द्रीय सदस्य थिए । स्व आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी छन् । रासस



प्रतिक्रिया दिनुहोस्