Logo

प्रदेशसभामा बलात्कारका घटनामा सदस्यको चासो



धनगढी, १३ साउन । प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरुले प्रदेशमा बलात्कारपछि हत्याका घटना बढ्दै गएको भन्दै यस्ता घटना रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेकपाकी देवकी मल्ल थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै यस्ता घटनामा संलग्नलाई कसरी तह लगाउने भन्नेबारे सरकारले सोच्नुपर्छ भनेकि छन ।

काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कैलाली र कञ्चनपुरमा बलात्कारपछि हत्याका घटना शृङ्खलाबद्धरुपमा बढ्दा जनता त्रसित र भयभित बनेको बताएका थिए ।

नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ र प्रकाश रावलले कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर विपक्षीले राजनीति गरेको आरोप लगाउँदै जघन्य अपराधका घटना हुन नदिन पहल हुनुपर्ने जनाए ।

बैठकमा सार्वजनिक महत्वको विषयमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षति र जघन्य अपराधका घटनाप्रति सरकार दुःखित भएको उल्लेख गर्दै क्षतिबारे सदनलाई जानकारी दिएका थिए।

मन्त्री शाहले सार्वजनिक महत्वको विषयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै सरकार प्राकृतिक प्रकोपजन्य घटनामा सचेत रहेको र अपराधका घटना हुन नदिन संवेदनशील बनेको बताएका छन।

बैठकमा विधायन तथा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले गाउँसभा र नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल भई तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक साउन १४ गते अपराह्न १ बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्