Logo

सुमनराज प्याकरेलको प्रश्न : न्यायालय प्रमुखले संसदलाई प्रेसर गर्न मिल्छ ?



‘कुनै षड्यन्त्र नभए भोलि प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निकास निस्किन्छ’

काठमाडौं, १५ साउन । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले पनि आफूहरुले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतीमै प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने भन्नेबारे निर्णय लिने जनाए ।

उनले भने,‘हामी समितिमा भएका १५ जनै सदस्यहरुबीच एकरुपता छ । समितिमा एकदम हार्दिकता छ । बाहिर चर्चा भएजस्तो हामी विभाजित छैनौं ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्याकुरेलले नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीलाई नआँत्तिन आग्रह समेत गरे । उनले भने,‘केसीजी तपाई यति धेरै आँत्तिन जरुरी छैन । नआँत्तिनुहोस । हामी तीनवटा निकायबीच टसल चाहँदैनौं । संविधानले व्यवस्था गरे अनुसार समिति बनेको हो । हामी संवैधानिक परिषदलाई सम्मान गर्छौं ।’

यद्धपी उनले पूनरावेदन अदालतले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाउन सक्ने गरेको स्मरण गर्दै उनले सुनुवाई समितिले संवैधानिक परिषदको निर्णय दुई तिहाईले उल्टाउन सक्ने स्पष्ट पारे ।

प्याकुरेलले न्यायिक संस्थाको प्रमुखले संसदलाई प्रेसर गर्न नहुने धारणा राखे । उनले भने,‘हामीले उहाँलाई कठघरामा होईन, सोफामा राखेर त्यो पनि पत्रकारहरुको अगाडि प्रश्न सोधेका छौं । उहाँको जवाफ उचित भएन भनेर स्वयम पत्रकारहरुले नै लेख्नुभएको छ । आजको युगको अदालत र संसद भनेको पञ्चायतीजस्तो होईन । कानुनी अक्षरलाई हेरेरमात्रै निर्णय हुँदैन् ।’

संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको बताउँदै उनले भने,‘सर्वोच्च अदालतका प्रमुखले संविधानको मर्म बुझ्नुपर्छ । संविधानको व्यवस्था बमोजिम बनेको सुुनुवाई समितिबारे पत्रपत्रिकामा जोशीले दिएको अन्र्तवार्ताले समितिको गरिमामाथि प्रश्न उठाएको छ।’
फरक प्रसँगमा उनले आफूहरुलाई पार्टीले कुनै ह्विप जारी नगरेको पनि स्पष्ट पारे ।

उनले भने,‘हामी पार्टीको हरेक आदेशलाई मान्न तयार छौं । दलीय व्यवस्थामा पार्टीको आदेश नमान्ने भन्ने कुरै हुँदैन् । हाम्रो पार्टीको तर्फबाट यो गर्न वा नगर्न भनेर कुनै ह्विप छैन । तर हामीले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई मौखिक रुपमा ब्रिफ गरेका छौं ।’ यदि कुनै षड्यन्त्र नभए भोलि प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निकास निस्किने उनको ठोकुवा छ ।

उनले पटक–पटक आफूहरुले सर्वसम्मतीमा निर्णय गर्ने तयारी गरिसकेकोले कसैलेपनि यो विषयमा दबाबको राजनीतिक गर्न नहुने धारणा राखे । पार्टी नतृत्वले आफूहरुलाई स्वविवेक प्रयोग गर्न आग्रह गरेको बताउँदै उनले भने,‘हामी पनि आन्दोलनबाटै आएका नेता हौं । हामी स्वविवेक प्रयोग गरेर निर्णय गर्न सक्षम छौं ।’



प्रतिक्रिया दिनुहोस्